दीपकले किन भने – ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’

Posted on: 04 Oct, 2024

असोज १८, काठमाडौँ | अभिनेता तथा निर्माता दीपकराज गिरीको नयाँ फिल्म ‘छक्का पञ्जा ५’ प्रदर्शन हुन अब केही दिनमात्र बाँकी छ । बडादशैँको फूलपातिका दिन अर्थात यही असोज २४ गतेदेखि यो फिल्म दर्शकमाझ आउने छ ।

फिल्मले हालसम्म सार्वजनिक गरेका प्रचार सामग्रीले दर्शकको ध्यान आकर्षित गर्न सफल भैसकेका छन् । खासगरि फिल्मका दुई गीतहरु बिहे भाको छैन तथा ब्रेकअप सङले दर्शकको ध्यान आकर्षित गर्न सफल भए । गीतका शब्दलाई सामाजिक सञ्जालमा आलोचनात्मक टिप्पणीहरु पनि नगरिएको होइनन्, तर सार्वजनिक भएका रिल तथा टिकटकले यी दुबै गीतहरु अत्यन्त लोकप्रिय भैसकेको प्रमाणित गरिसकेका छन् ।


यसैबीच, फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरीले एउटा अन्तर्वार्ताको क्रममा पछिल्लो अवस्थाप्रति दुःख तथा चिन्ता व्यक्त गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जालमा एउटा तस्विरसहितको स्टाटस पोस्ट गर्दै गिरीले पछिल्लो पटक भैरहेका गतिविधिका कारण आफू कसरी चिन्तित तथा निराश भएका छन् भन्ने कुरा व्यक्त गरेका छन् ।

सञ्चारकर्मी टिकाराम यात्रीले उनलाई एउटा जिज्ञासा राखेका रहेछन् । ‘दीपकजी तपाईंहरुमाथि यस्तो प्रहार भैरहेको छ, किन नबोलेको ?’ यो जिज्ञासामा दीपकराज गिरीको जवाफ छ– ‘कहाँ बोल्ने ? कति बोल्ने ? किन बोल्ने ?’ आफ्नो स्टाटसको अन्त्यमा उनले आफूलाई जिन्दगीले धेरै कुरा सिकाएको बताउँदै भनेका छन्– ‘हामीलाई जिन्दगीले धेरै कुरा सिकाएको छ ।’

अघिल्ला वर्षहरु झैँ यो वर्ष पनि दशैँको अवसरमा तीन भिन्न फिल्महरुबीच भिडन्त हुँदैछ । दीपकराज समुहको ‘छक्का पञ्जा–५’ सहित जितु नेपाल समुहको ‘ज्वाईँसाब’ तथा विराज भट्ट समुहको ‘१२ गाउँ’ एकै दिन प्रदर्शन हुँदैछन् । एकै दिन फिल्महरु जुध्ने भएपछि सम्बन्धित फिल्मका कलाकारदेखि निर्देशकसम्मले विभिन्न सञ्चार माध्यमहरुमा दिएका अभिव्यक्तिहरुले सामाजिक सञ्जालमा चर्चा त पाइरहेकै छैन, एक–अर्काबीच भिड्ने र भिडाउने शैलीका टिका–टिप्पणीहरु समेत हुन थालेका छन् । यिनै प्रसंगहरुमा आधारित भएर दीपकराज गिरीले कहाँ बोल्ने, कति बोल्ने, किन बोल्ने भन्ने अभिव्यक्ति दिएको अनुमान गर्न सकिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!