ज्वाइँ साब' ट्रेलर सार्वजनिक: सम्पत्तिको लोभमा विवाह गर्दा हुने कठिनाइको कथा (भिडिओ)

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | बसन्त निरौलाद्वारा निर्देशित नयाँ नेपाली फिल्म 'ज्वाइँ साब' को ट्रेलर बिहीबार सार्वजनिक भएको छ। झण्डै तीन मिनेट लामो ट्रेलरले गोवर्द्धन पण्डित नामक अधवैंशे पात्रको कथा प्रस्तुत गर्दछ, जसको विवाह हुनसकेको छैन र योग्य वधुको खोजीमा छ।

ट्रेलरमा गोवर्द्धनले रेडियोमा श्रीमतीसहित सम्पत्ति जित्न सकिने प्रतियोगिताको बारेमा सुनेपछि भाग लिएको देखाइन्छ। अभिनेत्री नीति शाहले प्रतियोगिता सञ्चालन गरिरहेकी छन्, जसमा भाग लिनेहरुलाई विभिन्न चुनौतीपूर्ण टास्कहरू—डोको बोकेर दौडिनु, चिया बनाउनुपर्नु, लुगा धुनु, र अन्तर्वार्तामा पास हुनुपर्नेजस्ता कार्यहरू गराइएको छ।

गोवर्द्धन अन्ततः प्रतियोगितामा विजयी हुन्छ, तर सम्पत्तिको लोभमा गरिने विवाहले वैवाहिक संकट निम्त्याउने कथा ट्रेलरमा खुलाइएको छ। ट्रेलरको अन्त्यमा जितु (गोवर्द्धन) पासपोर्ट बोकेर विदेश जान विमानस्थलमा पुगेको देखाइन्छ, जहाँ नीति शाह पनि बच्चासहित आइपुग्छिन्।

फिल्मले सम्पत्तिको लोभमा गरिने विवाहका समस्याबारे सन्देश दिन खोजेको देखिन्छ। 'ज्वाइँ साब' रेड आइ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो, र यो फिल्म दशैंको फूलपातीको अवसरमा असोज २४ मा प्रदर्शनमा आउने तयारीमा छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!