‘१२ गाउँ’को ट्रेलर सार्वजनिक(भिडिओ)

Posted on: 01 Oct, 2024

असोज १५,  काठमाडौँ । अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको सिनेमा ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । दशैंको फूलपाति अर्थात् असोज २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमाको आज मंगलबार ट्रेलर रिलिज गरिएको हो ।

मंगलबार युट्युबमार्फत् सार्वजनिक ३ मिनेट १४ सेकेण्ड लम्बाईको ट्रेलर एक्सनले भरिएको छ । विराज भट्ट र यही फिल्मबाट डेब्यु गरेका समीर भट्ट (विराजका छोरा) दुवै एक्सन अवतारमा प्रस्तुत छन् । ट्रेलरमा प्रेम र पीडाको पनि समिश्रण छ ।

१२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्र (मुरलीधर)को साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तुमा फिल्म बनेको ट्रेलरले प्रष्ट पार्छ । विराजलाई बाघको रुपमा चित्रित गरिएको छ । एक्सन र संवाद हावी रहेको ट्रेलरको अन्तिममा समीर ‘सिक्स प्याक एब्स’ देखाउँदै प्रस्तुत छन् । एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

यो सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गरेका छन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।


विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा छायांकन गरिएको छ । विराज र समीर पहिलो पटक एकसाथ देखिएकाले दर्शकमा ‘१२ गाउँ’को ठूलो प्रतिक्षा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!