बोर्डद्वारा चलचित्र आचार्यको प्रदर्शनीमा रोक

Posted on: 28 Jun, 2024

असार १४, काठमाडौँ । नेपाली चलचित्र ‘आचार्य’लाई चलचित्र विकास बोर्डले एक सातामै फिल्मको रिलिज रोकेको छ । बिहिबारबाट यो चलचित्रको प्रदर्शन बोर्डले रोकेको हो ।

दिवँगत गायक तथा संगीतकार भक्तराज आचार्यको जीवनीमा यो चलचित्र आधारित थियो । चलचित्रलाई १३ वर्ष अघि नै निर्माण गरेको प्रदर्शन गरिएको थियो । यतिबेला आचार्यप्रति श्रद्धासुमन स्वरुप उनको अन्तिम संस्कारको केहीदृष्य थपेर शुक्रबार अर्थात् असार ७ गतेबाट पुनः प्रदर्शन गरिएको थियो । तर चलचित्रलाई पुन सेन्सर नगराईएको भन्दै बोर्डले रोकेको छ ।


चलचित्र विकाश बोर्डको तर्क अनुसार कुनै चलचित्रलाई ५ वर्षपछि पुनः प्रदर्शन गर्दा सेन्सर गर्नुपर्ने प्रावधान छ । तर पनि ‘आचार्य’को सेन्सर नगरिएको भेटिएपछि रोक्नु परेको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताएका छन् ।

यो चलचित्रको सेन्सर नभएको भन्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा उजुरी परेको थियो । मन्त्रालयले ‘आचार्य’को प्रदर्शनको विषयमा बोर्डसँग स्पष्टिकरण सोधेपछि प्रदर्शन रोक्नु परेको पनि बोर्डले जनाएको छ ।

मन्त्रालयको पत्रपछि बोर्डको अनुगमन समितिले अनुगमन गर्दा सेन्सर प्रक्रिया पूरा नगरी यो चलचित्र सिनेमा हलमा प्रदर्शन भईरहेको पाईएको पनि बुढाथोकीले बताएका छन् । सोही कारण प्रदर्शन स्थगित गरिएको उनले जनाए । बोर्डको निर्देशनसँगै बिहीबारदेखि देशभरका हलमा यो चलचित्रको प्रदर्शन रोक गरिएको छ।

५ वर्ष कटेको चार महिनाभित्र फिल्मलाई सेन्सर गर्नुपर्ने प्रावधान रहेकाले ‘आचार्य’ १३ वर्ष अगाडि रिलिज भएको र जरिवाना तिरेर पुनः सेन्सर गर्न खोज्दा पनि नमिलेको निर्माता रोशन राईको भनाई छ । निर्माता राईले यो चलचित्रलाई सेन्सर गर्न प्रयास गरेको भईरहेको बताएका छन् ।

प्रशान्त रसाइलीको निर्देशनमा बनेको आचार्यमा सत्यराज आचार्य, सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ल लगायतको अभिनय छ । यो फिल्म २०६८ साल (सन् २०११)मा पहिलोपटक रिलिज भएको थियो । यो चलचित्रमा सत्यराजले पिता भक्तराजको भूमिका निभाएका छन् । गायक आचार्यप्रति श्रद्धाञ्जली स्वरुप ‘आचार्य’लाई पुनः प्रदर्शन गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!