सीमा विवादले गडविजला ताल अतिक्रमणको चपेटामा

Posted on: 17 Sep, 2016

असोज १, कञ्चनपुर । सीमा विवादले कञ्चनपुरको गडविजला तालको संरक्षण हुन नसक्दा अतिक्रमणको चेपेटामा परेको छ । 

ताल कृष्णपुर नगरपालिकामा पर्ने देखतभूली गाविसमा पर्ने भन्ने वर्षौदेखिको सीमा विवादले संरक्षण हुन नसकेको हो । २२ बिगाहा क्षेत्रफलमा फैलिएको ताल पाँच बिगाहा क्षेत्रफलमै सीमित भएको छ । 

ताल वरिपरिको जग्गा कब्जा गरी ४० भन्दा बढी परिवारले बसोवास गरेका छन् । देखतभूली गाविसका सचिव आनन्दप्रसाद भट्टले सीमा विवाद समाधान गर्नका लागि नक्सा हेरेर सीमा छुट्ट्याउनेमा सहमति भए पनि कार्यान्वयन नगरिँदा ताल संरक्षण गर्न गाह्रो परेको बताउनुभयो । 

“गाविस र नगरपालिकाले तालमा दाबी गर्दै आए पनि कसको क्षेत्रभित्र पर्छ भन्ने यकिन नहँुदा ताल संरक्षणमा चासो दिएको छैन” सचिव भट्टले भन्नुभयो । तालको वरीपरी बसोवास गर्दै आएका बासिन्दाले विसं २०५४ पछि तालक्षेत्र वरीपरीको क्षेत्रमा अतिक्रमण गर्न थालेपछि तालको क्षेत्रफलमा कमी आउन थालेको हो । 

ताल वरीपरीको जग्गा अतिक्रमण गरी स्थानीय बासिन्दाले खेती गर्न थालेपछि ताल पुरिने क्रम बढेको स्थानीयवासी भागिराम चौधरीले बताउनुभयो । ताल वारीपारीको क्षेत्रमा बस्ती बस्न सुरु भएपछि तालको जैविक विविधता समेत खतरामा परेको उहाँले बताउनुभयो । 

तालमा देखापर्ने गरेका जल पक्षीसमेत बस्तीकै कारण नदेखिने गरेका छन्, उहाँले भन्नुभयो, “तालको संरक्षणका लागि स्थानीय निकायले चासो नदिँदा तालको अस्तित्व खतरामा पर्दै जान थालेको छ ।” 

तालको संरक्षण भएमा पर्यटन व्यवसायलाई बढाउन सकिने उहाँले बताउनुभयो । ताल वरिपरीको क्षेत्रमा सुकुम्वासी र दलित समुदायको बस्ती रहेको छ । तालको पानी चुहिएर ताल पानी विहीन नबनोस भनेर डिल मर्मत गर्न र माछापालनका लागि आउटलेट निर्माण गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले छ वर्ष अघि समूहमार्फत रु चार लाख बजेटको व्यवस्था गरेको थियो । जिल्ला विकास समिति कञ्चनपुरले हाल पाँच वर्षका लागि रु २७ लाख भाडा तिर्ने गरी ताल ठेक्कामा दिएको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!