आईसीसी अलराउन्डर वरीयतामा सन्दीप लामिछानेको छलाङ, नेपालको एकदिवसीय वरियता खस्कियो

Posted on: 25 Sep, 2024

असोज ९, काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय अलराउन्डर वरियतामा २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC)ले बुधबार सार्वजनिक गरेको पछिल्लो वरियतामा सन्दीपको प्रगति उल्लेखनीय भएको हो।


अलराउन्डर वरियतामा अन्य नेपाली खेलाडीहरूको अवस्थिति निम्नानुसार छ:

दीपेन्द्रसिंह ऐरी ४८औँ स्थानमा,

कुशल मल्ल ५१औँ स्थानमा,

सोमपाल कामी ५३औँ स्थानमा,

करण केसी ७६औँ स्थानमा,

गुलशन झा ९०औँ स्थानमा,

ललित राजवंशी ९४औँ स्थानमा।

दीपेन्द्र र कुशलले क्रमशः ६ स्थान तल झरेका छन् भने करण, गुलशन र ललितले क्रमशः ११, १३, र १ स्थान सुधार गरेका छन्। सोमपालको वरियता भने यथावत् रहेको छ। अलराउन्डर वरियताको शीर्षस्थानमा अफगानिस्तानका मोहम्मद नबी छन्।

ब्याटिङतर्फ, नेपाली खेलाडीहरूमा आसिफ शेख ७९औँ, कुशल भुर्तेल ८०औँ र रोहितकुमार पौडेल ८७औँ स्थानमा छन्। रोहितको वरियता यथावत् छ भने आसिफ र कुशलले क्रमशः ११ र ४ स्थान तल झरेका छन्। ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमा छन्।

बलिङतर्फ, सन्दीप लामिछाने ४८औँ, ललित राजवंशी ५२औँ, दीपेन्द्रसिंह ऐरी ६४औँ, करण केसी ८७औँ र सोमपाल कामी ८८औँ स्थानमा रहेका छन्। सन्दीपको वरियता यथावत् छ भने ललित २, दीपेन्द्र १ र सोमपाल १३ स्थान तल झरेका छन्। करणले भने ४ स्थान सुधार गरेका छन्। बलिङ वरियताको शीर्ष स्थानमा दक्षिण अफ्रिकाका केशव महाराज छन्।

एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान तल खस्किएको छ। यसअघि १६औँ स्थानमा रहेको नेपाल अहिले १७औँ स्थानमा पुगेको छ। शीर्ष स्थानमा भारत यथावत् रहेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!