क्यानको बैठकमा उठ्यो कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाईमाथि प्रश्न

Posted on: 07 Jul, 2024

असार २३,  काठमाडौँ । नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप क्रिकेट खेलेर फर्किएपछि नेपाल क्रिकेट संघ क्यानको बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। 

आइसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका र वेस्टइन्डिजमा भएका बेला क्यानको विवादहरू पनि सार्वजनिक भए। ती विवादहरुको बारेमा क्यानको बोर्ड बैठकमा छलफल भएको छ। छलफलपछि पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसम्मलाई स्पष्टीकरण सोध्नेसम्मको निर्णय भएको क्यानका सचिव पारस खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।


क्यानले बोर्ड बैठकका लागि पहिला नै डेढ दर्जन जति एजेन्डाहरू तय गरेको थियो। तर, अप्सरी बेगमको निलम्बन र आदिल अन्सारीको निलम्बन फुकुवा प्रक्रियाको एजेन्डा भने पछि थपिएका थिए।

बोर्ड बैठकका लागि क्यानले आइसीसी टी–२० विश्वकप क्रिकेटको समीक्षा र सोही विश्वकपको तयारी खर्च अनुमोदनको एजेन्डालाई पहिलो र दोस्रो स्थानमा राखेको थियो। तर, उक्त एजेन्डामा छलफल पछि के निर्णय भयो भनेर क्यानले सार्वजनिक गरेको छैन।

पक्कै पनि आइसीसी विश्वकप क्रिकेटको समूह चरणबाटै नेपाल बाहिरिएपछि अहिले पनि कतिले प्रशिक्षकको विषय उठाएका छन् भने कतिले टिम स्क्वाड र कप्तानकै विषयमा पनि टिप्पणीहरू गरिरहेका छन्। तर, क्यानको बोर्ड बैठकले भने यस विषयमा केही पनि निर्णय गरेको छैन। 

क्यान स्रोतका अनुसार नेपाली टिमलाई अब रणनीतिकरुपमा अघि बढाउन ढिला गर्न नहुने भन्दै अधिकांश धारणा राख्नेहरूले सुझाव दिएका छन्। रणनीतिक भनेको प्रशिक्षक र टिममा रहेका खेलाडीहरूकै विषयमा समीक्षा गर्नु पर्नेमा उनीहरुको जोड छ। 

वर्तमान प्रशिक्षक मोन्टी देशाईको कार्यकाल २०२५ को फेब्रुअरीसम्म रहेको छ। उनको विकल्प खोज्नु पर्नेसम्मका आवाजहरू उठे पनि क्यानले भने यस विषयमा कुनै निर्णय गरेको छैन।  

त्यस्तै, कप्तान रोहित पौडेलको नेतृत्वको विषयमा पनि केही कुराहरू आएको पनि स्रोतले जनाएको छ। 

अब फेरि आइसीसी एक दिवसीय विश्वकप लिग टू को सिरिजहरूको तयारी गर्नुपर्ने भएकाले क्यानले प्रशिक्षक र खेलाडीहरूका विषयमा केही पनि धारणा बाहिर नलाएको बुझिएको छ।

विश्वकपको तयारी खर्च अनुमोदन पनि भएको छैन।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!