अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश

Posted on: 27 Jun, 2024

असार १३, काठमाडौँ | जारी आईसिसी टी–२० विश्वकपमा दक्षिण अफ्रिका फाइनल प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।  ५७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ८.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो । रिजा हेन्डिक्स २५ बलमा ३ चौका र १ छक्कासहित २९ रनमा अविजित रहे । एडेन माक्ररम २१ बलमा ४ चौकासहित २३ रनमा नट आउट रहे । ओपनर क्विन्टन डि कक ५ रन बनाएर आउट भएका थिए |

अफगानिस्तानका तीव्र गतिका बलर फजलहक फारुकीले १ विकेट लिए | 

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको अफगानिस्तान ११.४ ओभरमा ५६ रन बनाएर अल आउट भएका थिए | अफगानिस्तानका लागि अज्मतुल्लाह ओमरजाईले सर्बाधिक १० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन । त्यस्तै दक्षिण अफ्रिकाका बलर मार्को जानसेन र ताब्रिज शाम्सीले सर्बाधिक ३-३ विकेट लिए भने कागीसो रबाडा र एनरिच नोकियाले २-२ विकेट लिएका थिए ।

 त्यस्तै, आज दोस्रो सेमिफाइनल खेल भारत र इङल्याण्डबीच हुने भएको छ । गुयनास्थित प्रोभीडेन्स स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८: १५ बजेदेखि शुरु हुने छ ।

भारत यस विश्वकपमा अपराजित हुदै सेमिफाइनलसम्म पुगेको छ भने इङल्याण्डले पनि अहिलेसम्म उत्कृष्ट खेल देखाउदै सेमिफाइनलमा पुगेको छ । इङल्याण्ड समुह चरणमा अस्ट्रेलियासँग र सुपर आठमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो । भारतले २००७ को टी- २० विश्वकपको पहिलो संस्करण जितेपछि अहिलेसम्म विश्वकप जित्न सकेको छैन । २०१४ मा उपविजेता बनेको भारत पछिल्लो विश्वकपमा सेमिफाइनलबाट बाहिरिएको थियो । त्यस्तै इङल्याण्डले भने २०१० र २०२२ को विश्वकप जितेको थियो ।  

भारत र इङल्याण्डबीच अहिलेसम्म २३ टी- २० खेल भएका छन् । जसमा भारतले १२ र इङल्याण्डले ११ खेल जितेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!