विश्वकप टि-२० क्रिकेट: सबैभन्दा कम रन बनाउने रेकर्डमा युगाण्डाको नाम पनि जोडियो

Posted on: 09 Jun, 2024

जेठ २७, काठमाडौँ । विश्वकप क्रिकेटमा युगाण्डाले सबैभन्दा कम रन बनाएर २०१४ मा नेदरल्याण्डले बनाएको रनको सबैभन्दा कम रनको रेकर्डमा बराबरी गरेको छ । यस अघि विश्वकप टि-२० इतिहासमा २०१४ मा नेदरल्याण्डले श्रीलंका बिरुद्धको खेलमा ३९ रन मात्र बनाएर सबैभन्दा कम रनको इतिहास बनाएको थियो । आजको खेलमा युगान्डाले वेस्ट इन्डिज बिरुद्धको खेलमा सोहि स्कोरलाई छुँदै सबैभन्दा कम रनको इतिहासलाई बराबरी गरेको हो ।

आइतबार भएको खेलमा वेस्ट इन्डिजले पहिले ब्याटिङ गर्दै युगान्डालाई १७४ रनको लक्ष्य दिएको थियो । प्रोभिडेन्स स्टेडियम, गुयानामा टस जितेर सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओवरमा ४ विकेट गुमाउदै १७३ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले सर्वाधिक ४४ रन बनाए । उनले ४२ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४४ रन बनाएका हुन् । अन्तिम ओभरमा आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले नटआउट १७ बलमा ६ चौकाको मद्दतमा ३० रन बनाए।

कप्तान रोभम्यान पावेलले २३ रन, निकोलास पुरन र शेर्फेन रदरफोर्डले समान २२-२२ रन बनाए।

वेस्ट इन्डिजविरुद्ध युगान्डाका ब्रायन मसाबाले २ विकेट लिए भने अल्पेश रामजानी, कसमस किवाटा, दिनेश नक्रानीले समान १-१  विकेट लिएका हुन् । 

खेलमा वेस्ट इन्डिजले दिएको लक्ष्यलाई भेट्न ब्याटिङमा उत्रिएको युगाण्डाले १२ ओभरको खेलमा अल आउट हुन पुग्यो । युगान्डाको लागि जुम मियागीले नट आउट रहि सबैभन्दा बढी १३ रन बनाउन सफल भए । बाँकी कसैले पनि दोहोरो अंकको रन जोड्न सकेनन् । 

समूह ‘सी’मा वेस्ट इन्डिज, युगान्डा, अफगानिस्तान, पपुवा न्युगिनी (पिएनजी) र न्युजिल्यान्ड छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!