वुमन्स प्रिमियर कप: रुबिनाले प्रहार गरिन् शतक, बनिन् महिला क्रिकेटमा शतक हान्ने पहिलो खेलाडी

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | एसिसी वुमन्स प्रिमियर कप क्रिकेटअन्तर्गत माल्दिभ्सविरुद्धको खेलमा नेपालकी रुबिना क्षेत्रीले शतक प्रहार गरेकी छन्। प्रमुख ब्याटर रुविना क्षेत्री नेपाली महिला क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेकी छिन् ।

तेस्रो क्रममा नेपालको ब्याटिङ लाइन सम्हाल्न पुगेकी रुबिनाले ५४ बलमा १०२ रन प्रहार गरिन्। जसक्रममा उनले १० चौका र ३ छक्का हिर्काइन्। 

मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। नेपालले सुरुवाती ५ ओभरमै ३ विकेट गुमाएको थियो। 


नेपालका ओपनर कविता कुँवर १३ र सीता रानामागर १५ रन बनाएर आउट भएकी थिइन्। यस्तै, कप्तान इन्दु बर्मा शून्य रनमा आउट भइन्। भने डली भट्ट ६ रन बनाएर आउट भइन्। 

रुबिनासँग पूजा महतोले उत्कृष्ट साझेदारीसहित खेलिरहेकी छन्। पूजाले पनि अर्धशतक प्रहार गरेकी छन्। ३३ बल सामना गर्दै पूजाले अर्धशतक पूरा गरिन्। जसक्रममा उनले ५ चौका प्रहार गरिन्। 

समूह ‘डी’ को खेलमा नेपालले लगातार दोस्रो जित निकाल्दै ४ अंकका साथ क्वार्टरफाइनलमा स्थान बनाइसकेको छ। नेपालले पहिलो खेलमा हङकङ र दोस्रो खेलमा भुटानलाई समान ८ विकेटले पराजित गरेको थियो। 

माल्दिभ्स भने लगातार दोस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिसकेको छ।  माल्दिस पहिलो खेलमा भुटान र दोस्रो खेलमा हङकङसँग पराजित भएको थियो।

प्रतियोगितामा १६ सहभागी टोली ४ समूहमा छन्। हरेक समूहका शीर्ष २ टोली क्वाटरफाइनलमा पुग्नेछन्। सेमिफाइनल हुँदै फाइनलमा पुग्ने २ टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!