दोस्रो एकदिवसीय खेलमा नेपालले क्यानडालाई ४ विकेटले हरायो

Posted on: 10 Feb, 2024

माघ २७, काठमाडौँ | क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज खेलिएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले हराएको हो । नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । 

नेपालको जितमा कप्तान रोहित पौडेलले चार छक्का र आठ चौकाको अर्धशतक परि खेल्दै ८७ रन बनाएर आउट भएका थिए  भने  अर्का ब्याट्सम्यान देव खनालले ८१ बलको सामना गरी दुई छक्का र सात चौकाको मद्दतमा ७६ रन बनाएर आउट भएका थिए | त्यस्तै, ओपनर ब्याट्सम्यान अनिल शाहले १९ बलमा ५० रन बनाउदै नेपालबाट सबैभन्दा कम बलमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि असिफ सेखले २१ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।भीम सार्कीले २३ र पवन सर्राफले १४ रनको योगदान गरे । त्यस्तै आसिफ सेखले १०, कुशल मल्ल र सोमपाल कामीले समान ९/९ रन जोडे ।

त्यसैगरी क्यानडाका बलरहर्ष ठाकेर र इश्वोरजोत सोहिले २-२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एक एक विकेट लिएका थिए ।

यसअघि टस जिती पहिले ब्याटिङको निणर्य लिएको क्यानडाले निर्धारित ओभरमा ९ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान २-२ तथा पवन सर्राफ, आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिएका थिए ।

 क्यानडाविरुद्धको ३ एकदिवसीय सिरिजमा नेपालले दुई खेल जितिसकेको छ । अन्तिम एकदिवसीय सिरिज सोमबार हुनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!