प्रधानमन्त्री कप क्रिकेटमा आज तीन खेल हुने

Posted on: 22 Jan, 2024

माघ ८, काठमाडौँ | प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुने छ । आज नेपाल पुलिस क्लब र एपीएफ, मधेश र सुदूरपश्चिम प्रदेश तथा बागमती र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

जसअन्तर्गत नेपाल पुलिस क्लब र एपीएफ क्लबबीचको खेल बिहान ९ बजे भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा पुलिस क्लब अपराजित रहेको छ । पुलिस क्लब अहिलेसम्म खेलेका तीनवटै खेल जितेर ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यस्तै, एपीएफ ३ खेलबाट ४ अंक जोडेर पाँचौँ स्थानमा रहेको छ ।

यस्तै, आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सवा ९ बजे मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । सुदूरपश्चिम ३ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहँदा मधेश प्रदेश ५ खेलबाट ६ अंकसहित चौथो स्थानमा छ ।

त्यस्तै, बागमती र कर्णाली प्रदेशबीचको खेल बिहान सवा ९ बजे काठमाडौँको मूलपानी क्रिकेट मैदानमा हुनेछ । अहिलेसम्म बागमती प्रदेश ५ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ । कर्णाली प्रदेश ४ खेलबाट ४ अंकसहित सातौँ स्थानमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!