प्रधानमन्त्री कप: बागमती प्रदेशले आर्मी क्लबलाई तीन विकेटले हरायो

Posted on: 17 Jan, 2024

माघ ३, काठमाडौं | प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा बागमतीले नेपाल आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार ९८ रनको लक्ष्य पछ्याएको बागमतीको सुरुवात भने राम्रो भएन । ५४ रन बनाउँदा ५ विकेट गुमाएको स्थितिबाट सम्हालिँदै बागमतीले ९८ रनको लक्ष्य २२.१ ओभरमा ७ विकेट गुमाएर पार गरेको हो । २३ ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै प्रतिस जिसिले बागमतीको जित सुनिश्चित गरेका थिए । उनी २१ रनमा अविजित रहे । अशोक पौडेलले पनि २१ रन नै बनाए।

आर्मीका लागि सोमपाल कामीले ३, जितेन्द्र मुखियाले र शाहब आलमले २-२ विकेट लिए।

टस जितेर पहिले ब्याटिङ गरेको आर्मी क्लबले २७.१ ओभरमा ९७ रनमा अलआउट भएको थियो । आर्मीका लागि कप्तान विनोद भण्डारीले २८, भीम सार्कीले १८ र विवेक यादवले ११ रन बनाए । आर्मीका ६ खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

बागमतीका लागि बलर सूर्य तामाङले ५ विकेट लिए। उनले अघिल्लो खेलमा पनि ह्याट्रिकसहित ६ विकेट लिएका थिए । त्यस्तै, प्रतिस जिसी र रिजन ढकालले २–२ तथा कृजन गुरुङले १ विकेट लिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!