यूके रोजगारी: नेपाली नर्स पठाउन कति लाग्छ खर्च अनि प्रक्रिया के?

Posted on: 23 Aug, 2022

भदौ ७, काठमाडौँ | स्वास्थ्य क्षेत्रका दक्ष नेपाली जनशक्तिलाई ब्रिटेनमा रोजगारी दिनेबारे नेपाल र ब्रिटेनले एउटा समझदारी गरेका छन्।

सोमवार काठमाण्डूमा दुई देशका अधिकारीले त्यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।


श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल र नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिटले त्यसमा हस्ताक्षर गरेका छन्।

समझदारीपछि मन्त्रालयद्वारा जारी वक्तव्यमा भनिएको छ, "यस समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरूलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रमा रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ।"

यसअघि गत जेठ अन्तिम साताको मन्त्रिपरिषद् बैठकले नेपाली स्वास्थ्यकर्मीलाई रोजगारीका लागि यूके पठाउनका लागि द्विपक्षीय सम्झौता "मस्यौदा" अघि बढाउन स्वीकृति दिएको थियो।

कार्यान्वयनको ढाँचा 'छलफलकै क्रममा'

नेपाल र ब्रिटेनबीच उक्त समझदारी भए पनि त्यसलाई कार्यान्वयन कसरी गर्ने भन्ने विषयका कतिपय कुराहरू छलफलकै चरणमा रहेको श्रम मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

त्यसका लागि कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बारे अहिले "छलफल चलिरहेको" श्रम मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन शाखाका उप-सचिव तथा सहप्रवक्ता थानेश्वर भुसालले बताए।

उनका अनुसार उक्त प्रोटोकलमा "स्वास्थ्यकर्मीको छनोट, पदस्थापना र सेवा सुविधासम्बन्धी मापदण्ड" उल्लेख हुनेछ।

उक्त प्रोटोकलमा समावेश हुने कतिपय विषयमा दुवै पक्ष सैद्धान्तिक रूपमा सहमत बनेको मन्त्रालयले जनाएको छ।

अधिकारीहरूका अनुसार समझदारीमा स्वास्थ्यकर्मी भनिए पनि सुरुमा नेपालबाट नर्सहरूलाई ब्रिटेन पठाउने तयारी गरिएको छ।

यद्यपि सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि यूके पठाउने योजना अघि बढिरहेका बेला कतिपय जानकारहरूले ठूलो मात्रामा दक्ष जनशक्ति विदेश पठाउँदा त्यसले देशलाई घाटा पुग्ने बताउँदै आएका छन्।

कति नर्स जान पाउँछन्?

ब्रिटेनमा नेपाली नर्स पठाउनेबारे छलफल अघि बढेपछि तत्कालीन श्रममन्त्रीले नेपालबाट १० हजार नर्सहरूलाई यूके पठाउन लागिएको बताएका थिए।

उनले गत जेठमा संसद्‌मा भएको बजेटसम्बन्धी छलफलका क्रममा पनि त्यसको जानकारी गराएका थिए।

त्यसबेला उनले भनेका थिए, "कम्तीमा पनि चार लाख मासिक तलब हुनेगरी हामीले नेपाली स्टाफ नर्सहरू जो बेरोजगार हुनुहुन्छ उहाँहरूलाई पठाउनेछौँ।"

"उहाँहरूको माग त धेरै थियो तर बजारमा कति स्टाफ नर्स निकाल्न सकिन्छ। कम्तीमा १० हजार पठाउन सक्नेगरी हामीले सम्झौता गर्दै छौँ।"

तर अहिले श्रममन्त्री फेरिएका छन् र शेरबहादुर कुँवर श्रममन्त्री बनेका छन्।

लागत कति?

सरकारी स्तरबाटै शून्य लागतमा नेपाली नर्सहरूले वैदेशिक रोजगारीका लागि यूके जान पाउने मन्त्रालयले जनाएको छ।

सरकार-सरकारबीच सम्झौता भएको र तेस्रो पक्ष संलग्न नभएकाले लागत शून्य हुने भएको हो।

सहप्रवक्ता भुसालले भने, "श्रम सम्झौताहरू त सरकार-सरकारबीच नै हुने हो, तर पठाउने प्रक्रियामा मात्र निजी क्षेत्र कहिलेकहीँ संलग्न हुन्छ। तर यूकेका हकमा सबै सरकार-सरकारबीच नै हुन्छ।"

सरकारीस्तरबाटै पठाइने भएकाले "कामदार भिसामा जाने नर्सहरूले अतिरिक्त शुल्क तिर्नु नपर्ने" उनको भनाइ छ।

मन्त्रालयद्वारा जारी वक्तव्यमा पनि दुवै देशहरू शून्य लागतबारे सैद्धान्तिक रूपमा सहमत बनेको उल्लेख छ।

नेपालमा आर्थिक समस्या समाधान गर्न विदेशमा रहेका नेपालीले कस्तो सहयोग गर्न सक्छन्?

"नियुक्ति प्रक्रियाका लागि कुनै शुल्क नलाग्ने एवम् रोजगारीका लागि छनोट भएका स्वास्थ्यकर्मीको लागत शोधभर्ना हुने," त्यसमा भनिएको छ।

त्यस्तै ब्रिटेनमा नेपाली स्वास्थ्यकर्मीले पाउने सुविधाबारे मन्त्रालयको वक्तव्यमा भनिएको छ, "बेलायतको स्वास्थ्य क्षेत्रमा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीले सेवा, सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ।"

सैद्धान्तिक सहमति जुटेका विषय

मन्त्रालयका अनुसार नेपाल र ब्रिटेनबीच भएको समझदारीको कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) मा रहने विषयमध्ये केहीबारे सैद्धान्तिक सहमति जुटेको छ।

ती कुराहरूमा नेपाल र ब्रिटेनका सरकारी निकायको प्रत्यक्ष संलग्नतामा मात्र स्वास्थ्यकर्मीलाई लैजाने भन्ने विषय पनि छ।

त्यसका लागि नेपालको वैदेशिक रोजगार विभाग र ब्रिटेनको डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसियल केयर तोकिएका निकाय रहनेछन्।

त्यस्तै ब्रिटेन जान पाउने नेपाली स्वास्थ्यकर्मीको सङ्ख्या र प्रकारबारे दुवै पक्षले निर्धारण गर्ने सैद्धान्तिक सहमति पनि जुटेको छ।

त्यस्तै परीक्षणका रूपमा प्रथम चरणमा नेपाली नर्सहरूलाई पदस्थापन गर्ने कुरा प्रोटोकलमा स्पष्ट व्यवस्था गर्ने समझदारी बनेको छ।

अबको प्रक्रिया के?

छलफलका क्रममा रहेको प्रोटोकल बनेपछि थप प्रक्रियाहरू अघि बढ्ने बताइएको छ।

त्यो प्रक्रिया पूरा भएपछि दूतावासमार्फत् मागपत्र आउने र त्यसलाई कसरी पूर्ति गर्ने भन्नेबारे वैदेशिक रोजगार विभागले प्रक्रिया अघि बढाउने अधिकारिहरूको भनाइ छ।

त्यसका लागि नेपाल सरकारले एउटा एकीकृत वेब पोर्टल बनाउने सोच बनाएको उनीहरू बताउँछन्।

त्यस्तो वेब पोर्टलबाट एकीकृत रूपमा आवेदन दिने व्यवस्था मिलाइने उनीहरूको भनाइ छ।

यूके जान पाउने योग्यता के?

श्रम मन्त्रालयका अनुसार दुई वर्षको अनुभव भएका नर्सहरूले यूके जान पाउनेछन्।

त्यस्ता नर्सहरूले श्रम सम्झौता अनुसार यूकेमा पाँच वर्ष काम गर्न पाउनेछन्।

त्यसपछि उनीहरू नेपाल फर्कनुपर्ने अधिकारीहरूको भनाइ छ।

शून्य लागतमा यूके पठाइने नर्सहरूले त्यहाँ गएर तीन महिनासम्म सहयोगीका रूपमा काम गर्नुपर्ने हुन्छ।

त्यसपछि त्यहाँ उनीहरूले त्यहाँको लाइसेन्स लिनुपर्छ। त्यसरी लाइसेन्सको परीक्षा तीन पटकसम्म दिन पाइन्छ।

यूकेमा नर्सका रूपमा काम गर्न अङ्ग्रेजी भाषाको पनि परीक्षा हुने र त्यसमा पनि तोकिएको अङ्क ल्याउनुपर्ने हुन्छ।

इन्टरन्याशनल इङ्ग्लिस ल्याङ्वेज टेस्टिङ सिस्टम (आईईएलटीएस) मा ७ अङ्क तथा अक्यूपेशनल इङ्लिस टेस्ट (ओईटी) मा बी प्लस स्कोर ल्याउनुपर्ने बताइएको छ।

तर नेपालदेखि यूके जाने र यस्ता परीक्षाहरूमा लाग्ने खर्च समेत सबै यूकेले नै बेहोर्ने अधिकारीहरूको भनाइ छ। बिबिसिबाट

यस बिषयमा तपाइको प्रतिक्रिया...!