आइफोनका कारण आफ्नो सम्बन्ध विच्छेद भएको भन्दै एप्पलविरुद्ध मुद्दा, ५० लाख पाउन्ड क्षतिपूर्ति माग

Posted on: 18 Jun, 2024

असार ४, काठमाडौँ । आफ्नो व्यक्तिगत गोपनियता भंग भएको भन्दै  बेलायतका एक व्यापारीले एप्पलमाथि मुद्दा हालेका छन्। आइफोनबाट डिलिट गरिसकेको च्याट श्रीमतीले पढेर सम्बन्ध विच्छेद मागेपछि ती पुरुषले कम्पनीमाथि मुद्दा दायर गरेका हुन् । 

खबरका अनुसार पतिले कल गर्ललाई पठाएका केही म्यासेज डिलिट गरेका थिए । आइफोनमा उनले म्यासेज डिलिट गरेपनि एप्पलको अर्को उपकरणमा उनकी श्रीमतीले म्यासेज पढिन् अनि आपसी सम्बन्धमा कलह सुरु भएर कुरा सम्बन्ध विच्छेदसम्मै पुग्यो ।


खबरका अनुसार ती पुरुषले आइफोनबाट कल गर्ललाई म्यासेज पठाएका थिए । उनले म्यासेजहरू डिलिट पनि गरिदिएका थिए । तर आईम्याकबाट भने ती म्यासेज हटेको थिएन । त्यसलाई प्रमाणको रूपमा देखाएर महिलाले सम्बन्ध विच्छेदको निवेदन दिइन् । एप्पलका कारण आफूहरूको सम्बन्ध विच्छेद भएको भन्दै श्रीमानले सारा दोष कम्पनीलाई लगाएका छन् ।

 दुईवटा डिभाइसमा एउटै एप्पल आइडी लगइन भएमा एउटा डिभाइसबाट डिलिट भएका म्यासेज वा सामग्री अर्काे डिभाइसमा हट्दैन भनेर एप्पलले कहिल्यै नभनेको ती पुरुषको भनाइ छ ।

एप्पलले आफ्ना प्रयोगकर्ताहरूलाई फेमिली शेयरिङ फिचर दिएको छ । यस फिचरमा घरमा रहेका ५ वटा आईफोन वा एप्पल डिभाइसमा लगइन गर्न एउटै एप्पल आइडी प्रयोग गर्न सकिन्छ । एउटै लगइन आईडी भएका सबै उपकरणमा म्यासेजदेखि फोटोसम्म सबै कन्टेन्ट सिंक हुन्छ । तर एउटा उपकरणमा डिलिट गरेको म्यासेज वा फोटो अर्कोबाट हट्दैन ।

५० लाख पाउन्ड क्षतिपूर्ति माग

एउटा डिभाइसमा डिलिट गरेको म्यासेज अरूमा हट्दैन भनेर जानकारी दिनबाट कम्पनी चुकेको भन्दै ती पुरुषले ५० लाख पाउन्ड (करिब ८४ करोड ८९ लाख नेपाली रुपैयाँ) क्षतिपूर्ति माग्दै कम्पनीमाथि मुद्दा हालेका छन् । एप्पलको गल्तीका कारण आफ्नो घर बिग्रिएको र श्रीमतीलाई ५० लाख पाउन्ड गुजारा भत्ता दिनु परेको उनको तर्क छ ।

 कम्पनीको एउटा गल्तीका कारण आफू पीडादायक स्थितिबाट गुज्रिनु परेको उनको भनाइ छ । श्रीमतीले डिलिट भइसकेको म्यासेज नपढेको भए आफ्नो घर व्यवहार जोगिन सक्ने तर्क उनको छ । डिलिट भइसकेको म्यासेजको मेकानिक्सबारे एप्पलले यूजरहरूलाई स्पष्ट रुपमा नबताएको ती पुरुषको वकिलको तर्क छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!