हमासको प्रहार आकाशमै डिस्पोज गर्न इजरायलले राखेको आइरन डोम

Posted on: 10 Oct, 2023

असोज २३, काठमाडौँ | यतिबेला प्यालेस्टाइन विद्रोही समूह हमास र इजरायलबीच युद्ध चर्किएको छ । गाजामा नियन्त्रण जमाएको हमासले गत शनिबार आकस्मिकरुपमा इजरायल प्रवेश गरेर आक्रमण थालेयता विश्वभरको ध्यान तानिएको छ ।

त्यहाँ रहेका १० नेपालीसहित थुप्रै विदेशी पछिल्लो आक्रमणमा मारिएका छन् । हमास समूहले आफ्नो क्षेत्रबाट रकेटहरु सयौँको संख्यामा प्रहार गरिरहेको छ भने बन्धुकधारीहरु पनि इजरायली शहरहरुमा प्रवेश गरेका छन् ।


बीबीसीका अनुसार पछिल्लो आक्रमण सुरु भएयता गाजाबाट ४५ सयभन्दा बढी रकेटहरु इजरायलमा प्रहार भएका छन् । ती मध्ये धेरै रकेट गन्तव्यसम्म पुग्न नपाई आकाशमै डिस्पोज भए । विद्रोहीले प्रहार गरेका रकेटहरु आकाशमै डिस्पोज गर्न इजरायलले आइरन डोम डिफेन्स सिस्टम बनाएको छ ।

बीबीसीका अनुसार हाजबोल्लाहसँगको युद्धपछि इजरायलले सन् २००६ मा आइरन डोम बनाएको हो । सन् २०११ को अप्रिल ७ तारिखमा आइरन डोमले पहिलोपटक विद्रोहीले प्रहार गरेको रकेट आकाशमा डिस्पोज गरेको थियो ।

यो सिस्टममा विद्रोहीले आफ्नो क्षेत्रमा रकेट प्रहार गर्ने वित्तीकै चाल पाउने र त्यसको बाटो पहिल्याउने सिस्टम विकाश गरिएको हुन्छ । रकेट आक्रमण गर्न खोजिएको क्षेत्र पहिचान हुन्छ र त्यसरी आएको रकेटलाई डिस्पोज गर्न जवाफी क्षेप्यास्त्र प्रहार हुन्छ ।

आइरन डोम सिस्टमले ४ किलोमिटरदेखि ७० किलोमिटरसम्मबाट प्रहार भएका रकेटहरुलाई आकाशमै डिस्पोज गर्न नदिने र क्षती हुनबाट रोक्ने सामर्थ्य राख्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!