हमासद्वारा इजराइलमा रकेट हमला हुँदा चार जनाको मृत्यु

Posted on: 07 Oct, 2023

असोज २०, गाजा सिटी | अवरुद्ध गाजापट्टीबाट शनिबार रकेट आक्रमण हुँदा इजरायलमा कम्तीमा चार जनाको मृत्यु भएको एएफपीका पत्रकार र चिकित्सकहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान साढे छ बजेदेखि गाजाका कयौँ स्थानबाट थुप्रै रकेट प्रहार भएको एएफपीका पत्रकारले जनाएका छन् । सर्वसाधारणलाई बम आश्रयस्थल नजिकै बस्न आग्रह गर्दै इजरायली सेनाले मुलुकका दक्षिण र मध्य क्षेत्रहरूमा साइरनको चेतावनी दिएका थिए ।

जेरुसेलममा एएफपीका एक पत्रकारले पूरा सहरभर साइरन बजेपछि रकेट हमला रोकिएको देखेको बताए । प्यालेस्टिनी समूह हमासको सशस्त्र शाखाले  हमला आफूले गराएको बताएको छ । उसले आफ्ना लडाकुहरूले पाँच हजारभन्दा बढी रकेट हमला गरेको दाबी गरेको छ ।

“हामीले इजरायली कब्जाका सबै अपराधहरूलाई समाप्त पार्ने निर्णय गरेका छौँ, जबाफदेही ठहर नगरी वितण्डा मच्चाउने उनीहरूको समय सकिएको छ”, उक्त समूहले भनेको छ, “हामीले अल–अक्स फ्लडको घोषणा  गरेका छौँ र २० मिनेटको पहिलो हमलामा हामीले पाँच हजारभन्दा बढी रकेट प्रहार गर्‍यौँ ।”

गाजापट्टीबाट इजरायली क्षेत्रमा रकेट हमला र आतङ्ककारी घुसपैठसहित यो संयुक्त प्रयासमा हमासको हात रहेको इजरायली सेनाले बताएको छ ।

मागेन डेभिड एडोम आपत्कालीन सेवाले इजरायलमा प्रत्यक्ष  प्रहारका कारण एक ६० वर्षीया महिला मारिएको बताएको छ । चिकित्सकहरूका अनुसार अन्य १५ जना घाइते भएको र दुई जनाको अवस्था चिन्ताजनक रहेको छ ।

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले उक्त हमलापछि प्रधानमन्त्री नेतान्याहुले चाँडै सुरक्षा प्रमुखहरूलाई बोलाउनु हुने बताएको छ ।

सन् २००७ मा हमास सत्तामा आएपछि इजरायलले गाजामा प्रतिबन्ध लगाउँदै आएको छ । त्यसयता प्यालेस्टिनी लडाकु र इजरायलबिच विनाशकारी युद्ध भएका छन् ।

पछिल्लो हमला इजरायलले सेप्टेम्बरमा गाजाका कामदारमाथि दुई साताका लागि सीमा बन्द गरेपछि बढ्दो तनावका बिच भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!