आमाले गरिन् पाँच वर्षीय छोराको हत्या: टाउको पकाएर खाइन्,बाल्टीमा शवको टुक्रा देखेपछि शङ्का

Posted on: 04 Oct, 2023

एजेन्सी | इजिप्टमा एक महिलाले आफ्ना पाँच वर्षको छोराको हत्या गरेर टाउको पकाएर खाएकी छिन् । त्यसपछि त्यहाँको एक अदालतले ३० सेप्टेम्बरमा महिलालाई पागल घोषित गरेको छ । महिलाको नाम हना मोहम्मद हसन हो । 

घटना इजिप्टको फाकुस इलाकाको हो । अदालतले आफ्नो निर्णयमा आरोपी हना हसनले छोरालाई पागलपनको अवस्थामा हत्या गरेको ठहर गर्दै उनलाई मानसिक अस्पतालमा राख्न आदेश दिएको छ । 


प्रमाण मेटाउने कोसिसमा छोरा युसुफको शव टुक्रा पारिन् 

अनुसन्धान गर्दा आरोपी महिलाले चक्कुले छोराको हत्या गरेको पत्ता लागेको छ । उनले घरको सबै झ्याल–ढोका बन्द गरेर छोराको टाउकोमा तीनपटक चक्कुले हमला गरेको अनुसन्धानमा खुलासा भएको छ । 

अनुसन्धानमा खुलासा भए अनुसार हनाले प्रमाण मेटाउने कोसिसमा युसुफको शवलाई टुक्रा टुक्रा पारिन् । खाना पकाउनु अघि पानी उमालिन् र छोराको टाउको र मासुको टुक्रा हालेर केही बेर पकाइन् र खाइन् । 

परिवारले पानीको बाल्टीमा शवको टुक्रा देखेपछि शङ्का 

डेली मेलका अनुसार आरोपी आमाले छोराको हत्या गरेर उनको टाउको पानीको बाल्टीमा हालेको जानकारीमा उल्लेख छ । युसुफको शरीरका केही टुक्रा काकाले बाल्टीमा देखेपछि हत्यामा आमाको संलग्नताको आशङ्का गरिएको थियो । 

त्यसपछि ती महिलामाथि सोधपुछ गरियो । प्रहरीका अनुसार गिरफ्तारीपछि ती महिलाले छोराको हत्या गरेर टाउकाको केही भाग खाएको कुरा स्विकारिन् । यस्तो किन गरेको भनेर प्रश्न गर्दा छोरालाई सधैँ आफैँसँग राख्न हत्या गरेर खाएको उनले बताइन् । 

श्रीमानसँग सम्बन्ध विच्छेदपछि छोरासँग एक्लै बसिरहेकी थिइन् आरोपी आमा

हसनले गिरफ्तारीपछि फाकुस प्रहरीलाई आफू मानसिक रोगबाट पीडित भएको बताइन् र आफ्नो उद्देश्य बच्चालाई हानी गर्ने नभएको पनि स्पष्ट पारिन् । श्रीमान्सँग सम्बन्ध विच्छेदपछि महिला र उनको बच्चा एक्लै बसिरहेको थियो । 

उनका पूर्व श्रीमान् एचएले स्थानीय मिडियासँगको कुराकानीमा आफूलाई प्रहरीले छोराको शव हेर्न नदिएको बताए । उनले भने, ‘त्यहाँको भयानक स्थिति देखेर प्रहरीले मलाई छोराको शव हेर्न दिएनन् ।’

‘हामी चार वर्ष अघि छुट्टिएका हौँ । उनलाई उनका बुवाले जग्गा दिएका थिए त्यसैले उनले मलाई मेरो परिवार छोड्न र उनीसँगै त्यहाँ गएर बस्न दबाब दिइरहेकी थिइन् ।’

‘मैले त्यसो गरिनँ त्यसैले सम्बन्ध उनकै इच्छामा तोडिएको थियो । सम्बन्ध विच्छेद पछि पनि मिल्न खोजेको थिएँ तर उनी मानिनन् ।’

उनले थपे, ‘छोराले नै मलाई उनीसँग जोडेर राखेको थियो । म छोरालाई भेट्न गइरहन्थेँ । उनलाई लुगा लगिदिन्थेँ, केही चाहिएको छ भने किनिदिन्थेँ ।’

‘तर पछिल्लो समयमा उनले मलाई छोरा भेट्न दिँदैन थिन् । छोराको मनमा मप्रति घृणा पनि जगाइदिएकी थिइन् ।’

‘छोरा भेट्नका लागि म उनको परिवारसँग सम्पर्कमा थिएँ । उनी ठिक भए नभएको खोजी गर्थेँ ।’

उनका वकिल समीर मोहम्मद सालेहका अनुसार आरोपीले आफूसँगको कुराकानीमा भनेकी थिइन्, ‘म मेरो छोराको बुवासँग बदला लिन चाहन्थेँ । उनको बुवा धेरैजसो घरमा आइरहन्थे र उनलाई मबाट खोसेर लैजान चाहन्थे ।’

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!