भिटोफ नेपालमा चुनावी रन्को, उम्मेद्वारको आकांक्षी बढ्दै

Posted on: 23 Jul, 2016


साउन ८, काठमाडौ | गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ नेपाल) लाई चुनावी माहोलले तताएको छ । यही साउन १६ गते हुने महाधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दिनेहरु बढेका छन् । 

हालसम्म अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्नेमा वर्तमान उपाध्यक्ष दामोदर दाहाल, वर्तमान महासचिव राजकुमार थापा, ध्रुव सिंखडा र कमल सापकोटा छन् । त्यस्तै, उपाध्यक्षमा हालसम्म कसैको नाम परेको छैन । 

यो पदमा सर्वसम्मति हुने सम्भावना बताइएको छ । महासचिवमा उम्मेदवारी घोषणा गर्नेमा वर्तमान कोषाध्यक्ष दीपक खनाल, वर्तमान सचिव बासु पाण्डे र गगनराज न्यौपाने छन् । अरु पदका लागि समेत प्रतिस्पर्धा तीव्र रहेको वर्तमान अध्यक्ष चित्रबहादुर गुरुङले बताए । भिटोफले सर्वसम्मतिबाटै कार्यसमिति चयन गर्ने पहलसमेत गर्ने जनाएको छ । हालसम्म अध्यक्ष पदका लागि चारजनाको नाम आएपनि वर्तमान महासचिव राजकुमार थापा भने बलिया उम्मेदवारका रुपमा देखिएका छन् । 


‘जय पर्यटन, जय भिटोफ’को नारा लिएर चुनावी मैदानमा ओर्लिएका थापासँग लामो समयको अनुभव समेत रहेको छ । आफू गाउँ पर्यटन विकासको लागि सदैव लागि परेको भन्दै थापाले स्थानीय जनताको हौसला र समर्थन प्राप्त भएकै कारण अध्यक्षमा उम्मेदवारी घोषणा गरेको बताए । 

महासचिवमा भने वर्तमान कोषाध्यक्ष दीपक खनाल बलिया उम्मेदवारका रुपमा देखिएका छन् । महासचिवका आकांक्षीहरु तिनै जनाले आफुहरु महासचिव पदको लागि सक्षम रहेको बताएका छन् । साथै उनिहरुले आफु महासचिव भएमा मञ्चलाई शसक्त रुपमा अगाडि लैजाने दाबी समेत गरेका छन् । २० औं बार्षिक साधरणसभासँगै हुन गइरहेको निर्वाचनमा सबै पदका लागि आकांक्षीहरु भने बढ्दै गइरहेका छन् । गाउँ पर्यटन प्रबर्धन मञ्च (भिटोफ नेपाल) २०५४ सालमा स्थापना भएको पर्यटन व्यवसायीहरुको संस्था हो । 

भिटोफले गाउँमा देखिएका सम्भावित पर्यटकीय आकर्षणहरुलाई प्रर्बद्धन गर्ने गर्छ । भिटोफको साउन १६ गते हुने चुनावले नयाँ कार्यसमिति चयन गर्नेछ । अन्तिम उम्मेदवारी दर्ता भने साउन १५ गतेसम्म रहने महासचिवका उम्मेदवार गगनराज न्यौपानेले जानकारी दिए । 

भिटोफमा पाँच सयभन्दा बढी सदस्य रहेका छन् । उनीहरु सबैले महाधिवेशनमा मतदान गर्नेछन् । पर्यटन व्यवसायीहरुको यस संस्थाको चुनावी निर्णयले राजनीतिक स्तरमा समेत ठूलै प्रभाव पार्ने देखिन्छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!