आइएल टी-२० खेल्न युएई लागे दीपेन्द्र, लिग २ मा उपलब्ध होलान् ?

Posted on: 09 Feb, 2024

माघ २६, काठमाडौं | नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइएल टी–२० प्रतियोगिता युएई प्रस्थान गरेका छन् । उनी बिहीबार मात्रै सो प्रतियोगिताका लागि गल्फ जायन्ट्स टिममा आबद्ध भएका थिए ।

जारी प्रतियोगितामा दीपेन्द्र सम्मिलित जायन्ट्सले हालसम्म ९ खेल खेलिसकेको छ । त्यसमध्ये ५ खेलमा जित र ४ खेलमा हारसहित १० अंक जोड्दै अंकतालिकाको दोस्रो स्थानमा छ । लिग चरणमा एक खेल मात्रै खेल्न बाँकी रहँदा गल्फ जायन्ट्सको प्ले अफमा पुग्ने सम्भावना भने बलियो छ ।

गल्फ जायन्ट्सले लिग चरणको अन्तिम खेल शनिवार खेल्दैछ । उक्त खेलमा दीपेन्द्र उपलब्ध हुनेछन् । त्यसपछि आउँदो मङ्गलवारदेखि प्ले अफका खेलहरू सुरु हुन्छन् ।

यूएईमा खेल्न जाने भएकाले नै दीपेन्द्रलाई क्यानडाविरुद्धको सिरिजमा टोलीमा राखिएको थिएन । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सिरिजमा भने उनी समेटिएका छन् ।

क्यानाडासँगको सिरिज सकिएपछि नेपालले घरेलु भूमिमा लिग–२ अन्तर्गत नामिबिया र नेदरल्यान्डविरुद्ध सिरिज खेल्नेछ । उक्त सिरिजमा एक टिमले ४ खेल खेल्नेछन् । सिरिज फेब्रुअरी १५ देखि २५ सम्म टियु क्रिकेट मैदानमा हुनेछ ।

नेपालले पहिलो खेल नामिबियासँग फेब्रुअरी १५ र दोस्रो खेल नेदरल्यान्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले तेस्रो खेल फेब्रुअरी २१ मा नामिबिया र फेब्रुअरी २५ मा नेदरल्यान्डको सामना गर्नेछ ।

दीपेन्द्र सहभागी आइएल टी–२० को प्ले अफका खेलहरू फेब्रुअरी १३ देखि सुरु हुनेछन् भने फाइनल खेल फेब्रुअरी १७ मा हुनेछ । दीपेन्द्र सम्मिलित टिम गल्फ जायन्टस प्ले अफबाट अगाडि बढेको खण्डमा दीपेन्द्रले सुरुवातका दुई खेल गुमाउने देखिन्छ । खेल एकै समयमा भएको खण्डमा आइएल टी–२० छोडेर आउँछन् कि लिग २ का दुई खेलमा अनुपस्थित रहन्छन् भन्नेबारे नेपाल क्रिकेट संघले कुनै निर्णय सार्वजनिक गरेको छैन ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले दीपेन्द्रसँग सल्लाह गरेर निर्णय लिने बताए । यदि उनको क्लब अगाडि बढेको खण्डमा दीपेन्द्रले लिग २ का एक–दुई खेल गुमाउन सक्ने चन्दको भनाइ छ ।

‘अहिलेसम्म त हामी उनी उपलब्ध हुन्छन् भन्ने नै आशा छौं । तर, आइएल टी-२० पनि दीपेन्द्रका लागि राम्रो प्लेटफर्म हो । त्यहाँ उनले अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूसँग खेल्दैछन् । उनको त्यो अनुभव नेपालको टी–२० मा काम लाग्छ । त्यसैले लिग २ का १ वा २ खेल मिस गर्न सक्ने सम्भावना पनि छ । यस बारे छलफल गर्नेछौँ ।’ उनले भने । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!