यू–१९ विश्वकप क्रिकेट: नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौँ | दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा आजको खेलमा नेपालले न्युजिल्यान्डविरुद्ध पहिले बलिङ गर्ने भएको छ । उक्त खेलमा न्युजिल्यान्डले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो । जारी प्रतियोगितामा नेपालले पहिलो खेल खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार, दिउँदा १:४५ बजे सुरु हुनेछ । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल र न्युजिल्यान्डका अतिरिक्त पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । यू–१९ विश्वकपको यसअघिको संस्करणमा नेपालले दुईपटक न्युजिल्यान्डलाई हराइसकेको छ ।

दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

विश्वकप खेल्ने नेपाली टिम

यू–१९ विश्वकपमा नेपालका तर्फबाट देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा बी, उत्तम थापा मगर, दीपक बोहरा ए, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्दले खेल्ने छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!