यू– १९ विश्वकप क्रिकेट : आज नेपाल आफ्नो पहिलो खेल न्युजिल्याण्डसँग खेल्दै

Posted on: 21 Jan, 2024

माघ ७, काठमाडौँ | आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा आज नेपालले टेष्ट मान्यता प्राप्त राष्ट्र न्युजिल्याण्डसँग खेल्दैछ ।  समूह ‘डी’मा रहेको नेपालले आज आफ्नो पहिलो खेल न्यूजिल्याण्डसँग खेल्न लागेको हो ।

खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा हुनेछ । आजको खेलमा नेपाल र न्यूजिल्याण्ड दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रिँदै छन् ।

हिजो दक्षिण अफ्रिकामा सुरु भएको १५औँ संस्करणमा नेपालसहित विश्वका १६ राष्ट्र सहभागी छन् । १६ देशलाई चार समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘डी’ मा पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् । नेपालले दोस्रो खेल आगामी बुधबार पाकिस्तानसँग र शुक्रबार तेस्रो खेल अफगानिस्तानसँग खेल्ने छ |

यस्तै, समूह ‘ए’ मा अमेरिका, बंगलादेश, भारत र आयरल्याण्ड छन् भने समुह ‘बी’ मा स्कटल्याण्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र इंग्ल्याण्ड रहेका छन् । यसैगरी, समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, अस्ट्रेलिया र श्रीलंका रहेका छन् ।

विश्वकप खेल्ने नेपाली टिम

यू–१९ विश्वकपमा नेपालका तर्फबाट देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन कुमार झा, दिपेश प्रसाद कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा बी, उत्तम थापा मगर, दीपक बोहरा ए, विपिन रावल,  तिलकराज भण्डारी र आकाश चन्दले खेल्ने छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!