एसिया कप क्रिकेट: पाकिस्तानले दियो नेपाललाई ३४३ रनको विशाल लक्ष्य

Posted on: 30 Aug, 2023

भदौ १३, काठमाडौं | एसिया कप क्रिकेटको पहिलो खेलमा कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट साझेदारीसँगै पाकिस्तानले नेपाललाई ३४३ रनको विशाल लक्ष्य दिएको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन बनाएको हो । पाकिस्तानका लागि कप्तान कप्तान बाबर आजम र इफ्तिखार अहमदको उत्कृष्ट २१४ रनको साझेदारी गरे ।

अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हानेका थिए ।  त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै ११ चौका र ४ छक्का हिर्काए ।

नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो ।


२१ रन बनाउँदा फखार जमानलाई करण केसीले पभेलियनको बाटो देखाए । थप चार रन जोड्दा अर्का ओपनर इमाम उलहक रनआउट भए । कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिट मारेका थिए ।

त्यस्तै दीपेन्द्र सिंह ऐरीले मोहम्मद रिजवानलाई रन आउट गरेका थिए ।  थप २३ रन जोड्दा आगा सलमान पनि आउट भए । सन्दीप लामिछानेले उनलाई कुशल भुर्तेलको हातबाट क्याच गराएका थिए । 

एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण आज (बुधबार) देखि सुरु भएको छ । एसिया कपका खेलहरु सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलंकाका विभिन्न रंगशालामा खेलिनेछ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!