पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउदै सन्दीप!

Posted on: 30 Aug, 2023

भदौ १३,  काठमाडौँ | नेपालका लेग स्पिनर सन्दीप लामिछानेले पाकिस्तानविरुद्धको खेलमा व्यक्तिगत रेकर्ड बनाउनेछन् । पाकिस्तानसँगको खेल उनको ५०औँ एकदिवसीय खेल हुनेछ । यो सफलता प्राप्त गर्ने उनी तेस्रो नेपाली खेलाडी बन्नेछन् । यसअघि कप्तान रोहित र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५० एकदिवसीय खेल खेलेका थिए ।

नेपालका लागि रोहितले सर्वाधिक ५२ एकदिवसीय खेल खेलेका छन् । दीपेन्द्रसिंहले ५० खेल पूरा गरेका छन् । सन् २०१८ को १ अगस्टमा सन्दीपले नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय डेब्यु गरेका थिए, जुन खेल नेपाली क्रिकेट इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल थियो । 


सन् २०१८ को १ अगस्टमा नेदरल्यान्ड्सविरुद्ध डेब्यु गरेका सन्दीपले ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् भने ब्याटिङतर्फ ३३ इनिङ्समा तीन सय ६७ रन जोडेका छन् 

सन्दीपले अन्तिमपटक ४ जुलाई २०२३ मा आयरल्यान्डसँग ५० ओभरको खेल खेले । एकदिवसीय खेलमा कम खेलमा सय विकेट लिने उनी विश्वकै पहिलो बलर हुन् । उनले एसिसी प्रिमियर कपमा ओमानविरुद्ध ४२औँ खेलमा सय विकेट पूरा गरेका थिए । उनले गत वैशाखमा अफगानिस्तानका रासिद खानले ४४ खेलमा सय विकेट लिएका थिए । सन्दीपले २०२० मा अमेरिकाविरुद्ध र सन् २०२१ मा पपुवा न्युगिनीविरुद्ध समान ६ विकेट लिएका थिए । 

उनले ४९ एकदिवसीय खेलमा एक सय ११ विकेट लिएका छन् । ४८ इनिङ्समा उनले आठपटक चार विकेट लिए । तीनपटक उनको नाममा पाँच विकेटभन्दा बढी विकेट प्रदर्शन गरेका छन् । बलिङसँगै ब्याटिङमा समेत उनको प्रदर्शन निकै राम्रो रहेको छ । ४९ खेलमा उनले ३३ इनिङ्स खेल्दै तीन सय ६७ रन जोडेका छन् । उनको सर्वाधिक ३५ रन हो ।

एकदिवसीय खेलमा उनले ३३ चौका र ६ छक्का प्रहार गरेका छन् । २३ वर्षीय सन्दीपले नेपाललाई एकदिवसीय मान्यता दिलाउन ठूलो भूमिका खेलेका थिए । नेपालका लागि आरिफ शेख र सोमपाल कामीले समान ४७ एकदिवसीय खेल खेलेका छन् । फास्ट बलर करण केसी ४६ र कुशल भुर्तेलले ४४ एकदिवसीय खेले । आसिफ शेखले ४१, ज्ञानेन्द्र मल्लले ३७ र कुशल मल्लले २२ एकदिवसीय खेलमा सहभागिता जनाएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!