रक्सी खाएर दु:ख दिएको भन्दै श्रीमतीको हत्या, हत्यापछि भने–‘ सोलु गइन्, ३ वर्ष आउँदिनन्’

Posted on: 13 Sep, 2022

भदौ २८, ललितपुर | ललितपुरको गोदावरी नगरपालिका–३  स्थित फुलचोकी जंगलमा सोमबार महिलाको शव भेटियो । सो शव रौतहटको हजारिया माइती भएर ललितपुर बस्दै आएकी ४७ वर्षीया रुपा क्षेत्रीको भएको थाहा भएको छ ।  

ललितपुर महानगरपालिका–२९ स्थित हरिसिद्धी बस्दै आएकी रुपालाई हत्या गरेको आरोपमा प्रहरीले उनका पति घ्याल्मो लामालाई पक्राउ गरेको छ । ६३ वर्षीय घ्याल्मो दोलखाको भिमेश्वर नगरपालिका–९ का स्थानीय हुन् ।


काठमाडौँ उपत्यकामा घर बनाउने कामदारलाई संयोजन गरेर साना ठेक्का लिएर जीविकोपार्जन गर्दै आएका घ्याल्मोले पत्नीलाई योजनाबद्ध हत्या गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘लगातारको घर झगडाले हत्याको रूप लिएको देखिन्छ, हत्याबारे थप अनुसन्धान हुँदै छ ’प्रहरीले  बताए ।

घ्याल्मोकी तेस्री पत्नी हुन्, रुपा क्षेत्री । रुपाले दैनिक मदिरा सेवन गरेर झगडा गरेर हैरानी दिएको हुनाले हत्या गरेको आरोपीले प्रहरीलाई बताएका छन् । भदौ १६ मा मदिरा सेवन गरेकी पत्नीले झगडा गर्न थालेपछि उनले फकाएर गोदावरीतिर लगे । गोदावरीमा बुद्ध धर्म मान्नेहरूले बाँसमा टाँगेको धजाको डोरी चुँडालेर पत्नीसँगै हिँडिरहे । गोदावरी चोकबाट करिब ४ किलोमिटर पर जंगलमा पुगेपछि घाँटीमा डोरीले कसेर हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ ।

रुपासँग घ्याल्मोले २०७२ सालमा विवाह गरेका हुन् । रुपातिरका बच्चा छैनन् ।  हरिसिद्धिमा जेठीतिरका छोरीहरू बस्ने डेरा नजिकै बस्दै आएका घ्याल्मो हत्यापछि फर्किए । छोरीहरूले सोधे–‘आमा खोइ ?’ उनले जवाफ दिए–‘झगडा गरेर सोलुखुम्बु जान्छु भनेर हिँडिन, ३ वर्ष आउँदिन भनेकी छिन् ।’

स्थानीयले जंगलमा शव देखेर प्रहरीलाई खबर गरेपछि १० दिनअघि हत्याको घटनाको रहस्य खुलेको छ । घ्याल्मोलाई ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको एसएसपी पोखरेलले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!