मुद्दा फैसलामा ढिलाइ हुँदा काठ सड्दै

Posted on: 22 Dec, 2021

पुस ७, महोत्तरी | न्यायिक निकायले समयमै मुद्दाको फैसला नगर्दा बहुमूल्य काठ सड्न थालेको छ । जिल्लाका विभिन्न वनमा चोरी कटानका क्रममा वनका कर्मचारीले बरामद गरेको काठ दैनिक सड्न थालेको छ । 

मुद्दा समयमै फैसला नहुँदा लिलामी प्रक्रियामा लैजान नसकिएको जिल्ला वन कार्यालयका कार्यालयका रेञ्जर सन्तोषकुमार यादवले जानकारी दिनुभयो । चोेरी कटान भएका काठ बरामद गरिएपछि त्यसको प्रारम्भिक न्यायिक सुनवाइ जिल्लास्थित डिभिजन वन कार्यालय र जिल्ला अदालतमा हुने व्यवस्था छ । बरामद गरिएका दुई लाख बिगोभित्रका काठ चोरी मुद्दाको सुनुवाइ डिभिजन वन कार्यालयकै इजलास तथा त्यसभन्दा बढीको सुनवाइ जिल्ला अदालतले गर्ने कानुनी व्यवस्था छ ।

बरामद गरिएको चार हजार क्यूफिट काठ डिभिजन वन कार्यालयमातहतको सशस्त्र वन सुरक्षा शाखा, माईस्थानको कार्यालय परिसरमा थन्किएको छ । चार वर्षयता बरामद गरिएको काठ सड्ने र धोद्रिने क्रममा छ । डिभिजन वन कार्यालयमा २०४८ सालयता १९८ वन मुद्दा (काठ चोरी निकासी) परेका डिभिजन प्रमुख विनोदकुमार सिंहले बताउनुभयो । यी मुद्दा रु दुई लाख बिगोभित्रका हुन् । यसबाहेक २०० भन्दा बढी मुद्दा अदालतमा विचाराधीन अवस्थामा छन् । 

यस्तै पूर्वपश्चिम रेलमार्ग र विद्युत् प्रसारण लाइन निर्माणका लागि कटान गरिएको काठ पनि जिल्लाका विभिन्न ठाउँमा राखिएको छ । कटान भएको काठको लिलामीका लागि वन मन्त्रालयसम्मको स्वीकृति लिनुपर्ने प्रावधान छ । यस क्रममा कुकाठ भने बिक्री गरिएको सिंहले बताउनुभयो । हाल सड्न थालेको काठ करोडौँ रुपैयाँको रहेको वन कार्यालयले जनाएको छ । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!