जनकपुर तनावग्रस्त: प्रशासनद्वारा निषेधाज्ञा घोषणा

Posted on: 13 Nov, 2021

कात्तिक २७, धनुषा | जनकपुरधाममा छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय दुई समुदायबीच भएको विवादले उग्ररूप लिएपछि अवस्था तनावपूर्ण बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २० मा रहेको देवपुरा रुपैठास्थित तेलिया पोखरीमा छठ पूजाको लागि घाट निर्माण गर्ने विषयलाई लिएर शनिबार हिन्दुवादी संगठनको समूह जनकपुरधाममा प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो । 

तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले एक दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीसंगको झडपको क्रममा दुई जना प्रहरी र एक जना स्थानीय महिला घाइते भएका छन् । 

घटनालाई प्रहरीले नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको छ । प्रशासनले तनाब रहेको स्थानमा भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।

केही दिनअघि छठ पर्वमा घाट निर्माण गर्ने विषयमा स्थानीय समुदायले अवरोध खडा गरेपछि भएको झडपमा चार जना घाइते भएका थिए । सोही विषयलाई लिएर आज पुन: स्थानीय दुई समुदायबीच झडप भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!