महोत्तरीमा चट्याङ्ग लागेर दुई जनाको मृत्यु

Posted on: 28 Jun, 2021

असार १४, जलेश्वर (रासस) । वर्षासँगै परेको चट्याङ्ग लागेर मनरासिस्वा नगरपालिकामा दुई जनाको मृत्युभएको छ । मृत्युहुनेमा मनरासिस्वा वडा नं ४ साढा गाउँका प्रेमशिला देवी र वडा नं ५ कटैया गाउँका विशेश्वर राय  छन् ।  

जिल्ला प्रहरी कार्यालयक महोत्तरीका  प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार ५० वर्षीया देवीको घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र ८० वर्षीय रायको गाउँ नजिक भैसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्युभएको थियो । 

सरकारी कार्यालय डुबानमा

आज बिहान परेको एक घण्टाको वर्षाले महोत्तरी सदरमुकाम जलेश्वरका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । 

जलेश्वरमा नयाँ सडक बनाउने नाउँमा मूल सडकसहित नगरभरिको सडकहरु ३/४ फिटसम्म खनेर शहर नै गहिरो बनाइ दिएपछि वर्षाको पानी जमेर जिल्ला अदालत, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला शिक्षा समन्वय इकाई, कृषि कार्यालय, पशु कार्यालयलगायत सरकारी कार्यालयहरु जलमग्न भएका छन् । आज बिहान नौ बजेदेखि १० बजेसम्म परेको मुसलेधार पानीका कारण सरकारी कार्यालय डुबानमा परेपछि सेवाग्राही र कर्मचारीलाई समेत आवतजावत गर्न समस्या भइरहेको छ ।

विगत एक वर्षदेखि जलेश्वर नगरपालिकामा सामान्य वर्षा हुँदा पनि सरकारी कार्यालयलगायत नगरक्षेत्रका मूल सडकसहित अधिकांश सडक जलमग्न हुने गरेका छन् । गहिरो स्थान र निकास नरहेका ठाउँहरुमा पानी जमे पनि जनधनको क्षति कतै नभएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!