सन्तोष गौतम मल्लाज(पर्वत) १२ चैत । उत्तरी पर्वतको लेकफाँटका कृषकहरु दैनिक छ घण्टा पैदल हिडेर म्याग्दीको सदरमुकाम बेनीमा दूध बेच्न आउने गरेका छन् । गाउँमा सडक पुगेको बर्षौ भएपनि यातायातका साधन नचल्दा लेकफाँटका कृषकहरु पिठ्युमा बोकेर ढूध ढुवानी गर्न बाध्य भएका हुन् । गाउँमा यातायात र दूध संकलन गर्ने व्यवस्था नहुँदा दूधको भारी बोकेर बेनी आउने गरेको लेकफाँट २ गडेखोलाका कृषक बाबुराम रेग्मीले बताउनुभयो । दश वर्षदेखि लेकफाँटदेखि बेनीमा दूध ल्याएर बिक्री गर्दै आएका ४६ वर्षिय रेग्मीले बेनी आउन तिन घण्टा ओरालो र बेनीबाट घर फर्कन थप तिन घण्टा उकालो हिड्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
पर्वतको धाईरीङ मिलनचोक हुदै लेकफाँट जोड्ने सडक घुमाउरो, कच्चि, प्राबिधिक हिसावले कमजोर हुँदा न्युन मात्रामा सार्वजनीक यातायातका साधन चल्छ । गाडी रिजर्भ गरेर अथवा आफैले गाडी किन्न सक्ने अवस्था नहुँदा कृषकहरुलाई दूध ढुवानी गर्न समस्या भएको हो । लेकफाँट २ गडेखोलाका बाबुराम रेग्मी, शालीग्राम सुवेदी, नरहरी सुवेदी, मोहदत्त सुवेदी, हरिकला पौडेल र देवीकला सुवेदीले गाउँमा संकलन हुने दूध बेनीमा ढुवानी गर्दै आउनुभएको छ । उनिहरुले आफ्नो घर र छिमेकीले उत्पादन गरेको ढूध संकलन गरेर ग्यालीन र बोत्तलमा राखेर बेनीका डेरी तथा उपभोक्ताको घरमा लगेर बेच्ने गरेका छन् .
लेकफाँटबाट बेनीमा दैनिक एक सय ८० लिटर दूध ल्याउने गरेका छन् । ढुवानीको समस्याले गर्दा दुख पाउने र समय धेरै खर्च हुनुका साथै दूधको उचित मूल्य पनि पाउन नसकेको कृषक शालीग्राम सुवेदीले बताउनुभयो । गाउँमा कृषकले प्रतिलिटर ४० रुपैयाका दरले दूध बेच्ने गरेका छन् । बेनीमा ल्याएर ५० रुपैया प्रतिलिटरका दरले बिक्री हुन्छ । बेनीमा दूध बेच्ने अन्य ठाउँका कृषकले प्रतिलिटर ५७ रुपैया सम्म पाउँछन् । ढूधको भारी बोकेर जंगल, भिर र खोल्साको बाटो हिड्दा दुख भएको कृषक सुवेदीको अनुभव छ ।
आयआर्जनको अन्य विकल्प नभएकाले उत्पादन गरेको ढूध बिक्री गर्नका लागि भारी बोकेर बेनी आउनुपर्ने बाध्यता रहेको कृषकहरु बताउँछन् । लेकफाँटका ३० घरधुरीले ब्यवसायीक रुपमा भैसीपालन गरेर दूध उत्पादन गर्दै आएका छन् । लेकफाँटमा केही वर्षअघि दूध संकलन केन्द्र स्थापना भएपनि केही दिन सञ्चालन भएर बन्द भएको थियो । जिल्ला पशु सेवा कार्यालयले दूध संकलन गर्ने र ढुवानी गर्ने सामानहरु पनि दिएको थियो । दूग्ध संकलन केन्द्र पुन सञ्चालनमा ल्याउन सकेमा धेरै राहत हुने कृषक नरहरी सुवेदीले बताउनुभयो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!