मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान धुलिखेलको आकाशमाथि ठोक्किनबाट जोगिए

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३६ किलोमिटर पूर्वतिर धुलिखेलको आकाशमाथि मनाङ एयरको हेलिकप्टर र तारा एयरको विमान ठोक्किनबाट जोगिएका छन्। तारा एयरको विमानमा रहेको टिकास (ट्राफिक कोलिजन अभोइडेन्स सिस्टम)ले सम्भावित ठोक्किनेबारे सूचना दिएपछि विमानका पाइलटको सतर्कताले ठुलो दुर्घटना टरेको हो।

तारा एयरको विमान लुक्लाबाट काठमाडौं अवतरणको क्रममा थियो भने मनाङ एयरको ९ एनएओई नम्बरको हेलिकप्टर उचाइमा तोकिएको सीमा उल्लंघन गर्दै ८,२२० फिटको उचाइमा पुगेको थियो, जबकी एटीसीले ७,५०० फिट उडान अनुमति दिएको थियो। टिकासले चेतावनी जारी गरेपछि तारा एयरका पाइलट पीएस नगरकोटीले विमानलाई ९,००० फिट उचाइमा पुर्‍याएर ठोक्किनबाट जोगाएका थिए।


हेलिकप्टर र विमानको होरिजेन्टल दूरी १ किलोमिटरभन्दा कम र भर्टिकल दूरी ३०० फिट मात्र थियो। यो 'हेडअन पोजिसन' मानिने खतरनाक अवस्था हो, जहाँ १,००० फिटको भर्टिकल दूरी हुनुपर्ने नियम छ।

मनाङ एयरका पाइलट पी चौलागाईंले बादलका कारण तोकिएभन्दा माथिको उचाइमा पुगेको जानकारी एयर ट्राफिक कन्ट्रोललाई गराएका थिए। हालसम्म नेपाल नागरिक उड्डयन प्राधिकरणले दूरी उल्लंघनको घटनामा कुनै कारबाही नगरेकोप्रति आलोचना भइरहेको छ।

यसअघि, कतार एयरलाइन्सको विमान र सिम्रिक एयरको हेलिकप्टर पनि त्रिभुवन विमानस्थल नजिक ठोक्किनबाट जोगिएका थिए, जसमा पनि टिकासले समयमै सूचना दिएर ठुलो दुर्घटना टरेको थियो।

विमानस्थलका अधिकारीहरुले प्राधिकरणको नियमनमा कमजोरी देखिएको र पाइलट तथा एटीसीका कर्मचारीहरू थकित भएर काम गर्दा यस्ता घटनाहरु दोहोरिएको बताउँदै सुधारको आवश्यकता औंल्याएका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!