नेपालले भारतको बाटो हुँदै बंगलादेशलाई ४० मेगावाट बिजुली बेच्ने, तीन देशबीच सम्झौता

Posted on: 03 Oct, 2024

असोज १७, काठमाडौँ | नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्रीका लागि भारतसँग त्रिपक्षीय सम्झौता गरेको छ। बुधबार आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको नोडल एजेन्सी एनभिभिएनका प्रमुख कार्यकारी रेणु नाराङले हस्ताक्षर गरेका हुन्।


सम्झौताअनुसार, नेपालले भारतीय संरचना प्रयोग गरी बंगलादेशलाई विद्युत् निर्यात गर्नेछ। यसका लागि मुजफ्फरपुरदेखि भारतीय प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुर्याइनेछ।

त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादन भएको ४० मेगावाट विद्युत् पाँच महिना (जुन १५ देखि १५ नोभेम्बरसम्म) बंगलादेशलाई निर्यात गरिनेछ। प्रति युनिट ८ रुपैयाँ १७ टाका (९ रुपैयाँ ३० पैसा) मा विद्युत् बिक्री गरिने प्राधिकरणले जनाएको छ।

ऊर्जा मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतका अनुसार, यो सम्झौता नेपालको जलविद्युत् व्यापारका लागि महत्वपूर्ण उपलब्धि हो। नेपाल र बंगलादेशले संयुक्त रूपमा सुनकोशी तेस्रो जलविद्युत् आयोजना निर्माणका लागि पनि सहकार्य गर्ने सहमति गरेका छन्।


यस बिषयमा तपाइको प्रतिक्रिया...!