झ्याप्ले खोला पहिरो: गुल्मीका दुई परिवारका ६ जना सहित ३० जनाको मृत्यु (अपडेट)

Posted on: 29 Sep, 2024

असोज १३, काठमाडौँ । शुक्रबार राति लेदोसहित झरेको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत धुनीबेंसी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा सवारीसाधन पुरिँदा अहिलेसम्म ३० जनाको मृत्यु भएको छ। उद्धारकार्य जारी रहँदा गुल्मीका दुई परिवारका ६ जनासहित ठूलो संख्यामा यात्रुहरूले ज्यान गुमाएका छन्।

उद्धार टोलीले शनिबार १४ जनाको शव फेला पारेपछि आइतबार पनि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्यलाई तीव्रता दिँदै थप १६ जनाको शव निकाल्न सफल भएका छन्। पहिरोले माइक्रोबस, विङ्गर र अन्य चारवटा सवारीसाधनलाई पुरेको पुष्टि भएको छ।


विशेष गरी गुल्मीका दुई परिवारका ६ जनाको ज्यान गएको खुल्न आएको छ। गुल्मी गाउँपालिका–६ र गुल्मीदरवार गाउँपालिकाका एकै परिवारका तीन–तीन जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये प्रमिता भुसाल रायमाझीको पहिचान भएको छ।

झ्याप्ले खोलामा पुरिएको लु १ ज ४५७८ नम्बरको विङ्गर बुटवलबाट काठमाडौं जाँदै थियो, जसमा गुल्मीका दुई परिवार सवार थिए। गोरखाबाट छुटेको दरौँदी यातायातको ना ४ ख २२७० नम्बरको नवदुर्गा यातायातको बस र चितवन–काठमाडौं रूटमा चल्ने बा २ ख १३४५ नम्बरको माइक्रोबस पनि पहिरोमा परेको छ।

डोजरको प्रयोग गरी पहिरो पन्छाउने र शव निकाल्ने काम भइरहेको छ। पृथ्वी राजमार्ग अवरुद्ध हुँदा यातायात ठप्प भएको छ भने उद्धारकार्यलाई सावधानीपूर्वक अघि बढाइएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!