शुक्रवारदेखि सम्पर्कविहीन गोरखाको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटियो, ३ शव फेला

Posted on: 29 Sep, 2024

असोज १३, काठमाडौँ । गोरखाबाट काठमाडौं आउँदै गर्दा सम्पर्कविहीन भएको बस पनि झ्याप्ले खोलाको पहिरोमा भेटिएको छ ।

गोरखाको लापुबेसीबाट छुटेर शुक्रवार रातिदेखि सम्पर्कविहीन बस त्रिभुवन राजपथअन्तर्गत नागढुंगा-नौबीसे सडक खण्डमा पर्ने झ्याप्ले खोलामा भेटिएको हो ।


बा ४ ख २२७० नम्बरको उक्त बस पहिरोमा पुरिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

बसमा रहेको ड्राइभरको नम्बरबाट पहिचान खुलेको र उक्त बसमा ३ जनाको शव भेटिएको थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठका अनुसार उक्त बस लापुबेसीबाट शुक्रबार बिहान ७ बजे छुटेको थियो । 

‘मुग्लिनसम्म आउँदा चालकसहित ३–४ जना यात्रु रहेको पाइएको छ । त्यसयता बसमा कति यात्रु चढे थाहा भएन । नौबीसे आएपछि सम्पर्कविहीन भएको थियो,’ जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी रमेशकुमार श्रेष्ठले भने ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!