सिमलताल अपडेट :गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला

Posted on: 17 Jul, 2024

साउन २, काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते शुक्रबार बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् |

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने १२ वटा शवको मात्र सनाखत भएको छ । ५ शवको सनाखत हुन बाँकी छ ।

सनाखत भएकामध्ये गणपति बसका ७ जना रहेका छन् भने एन्जल बसका ४ जना रहेका छन् । एक जनाको बस यकिन भएको छैन ।

१७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् । असार ३१ गते भेटिएका ५ र साउन १ गते  ३ शव भेटिएका हुन् | यी मध्ये सनाखत हुन बाँकी रहेका शवमा ३ पुरुष र २ महिला गरी ५ जना रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!