अहिलेसम्म भेटिएन त्रिशूली नदीमा खसेका बस: पानी धमिलो भएकाले भित्र जान सकेनन् गोताखोर, चुम्बकले खोज्दा भेटिएनन्

Posted on: 12 Jul, 2024

असार २८, काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिन सकेको छैन । भरतपुर महानगरपालिका–२९ सिमलतालमा मध्यरात पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म नभेटिएका हुन् ।

बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले बगाएको थियो ।


तीनजना यात्रु पौडी खेलेर किनारामा निस्किएका थिए । दुइटा बसमा कति यात्रु थिए अहिलेसम्म यकिन हुन सकेको छैन ।

खोज्नको लागि पानीको चाप अत्यधिक र धमिलो भएकाले नदीको गहिराइसम्म गोताखोर पुग्न सक्ने अवस्था छैन । यसकारण चुम्बक फालेर बसको खोजी सुरु गरिएको थियो । तर, भेटिन नसकिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन पहिरोमा रोकिए दुई दर्जनबढी बिहेको गाडी, बेहुला जाममै अड्किए बेहुली जग्गेमा पर्खँदै

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन शिक्षालय कुरिनटारबाट एसएसपी माधव पौडेलको कमान्डमा अहिले ७० जनाको टोली खोजी तथा उद्दारमा खटिएको छ ।

सशस्त्र प्रहरीका ३ वटा बोट र सेनाको १ वटा बोटमार्फत गोताखोरको टोली त्रिशूली नदीमा गएर खोजी कार्य गरिरहेको छ । रातिदेखि खोजी गर्दा पनि अहिलेसम्म केही नभेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!