बाढी र पहिरोले देशैभर २४ सडक ठप्प, १०१ वटा एकतर्फी रुपमा चालू

Posted on: 07 Jul, 2024

असार २३,  काठमाडौँ । शुक्रबारदेखिको भारी वर्षातले देशभर २४ वटा सडक अवरुद्ध भएका छन्।

सडक विभागका अनुसार २०१ वटा सडकमध्ये ७६ वटा सडक मात्रै पूर्ण रुपमा सञ्चालन भइरहेका हुन्। 

विभागले १०१ सडक एकतर्फी रुपमा चालू रहेको जनाएको छ। केही सडक १७ दिनदेखि अवरुद्ध छन् भने अधिकांश सडक शनिबार र आइतबार बिहानदेखि बन्द भएका छन्। 

अवरुद्ध हुने सडकमा जमुनाह–नेपालगन्ज–कोहलपुर– सुर्खेत सडकखण्डका २ ठाउँमा छ। कालिकोटको स्मोडमा १२ घण्टा अवरुद्ध भएको छ। कालिकोटकै टाकुल्ला स्थानमा आइतबार बिहानबाट बन्द भएको छ। कालिकोटको हुल्ममा शनिबारदेखि नै सडक बन्द छ।

सिन्धुपाल्चोकको कोदारीमा करिब ४० घण्टादेखि सडक रोकिएको सडक विभागले जनाएको छ। 

मध्यपहाडी राजमार्गअन्तर्गत डोटीको रामपुरमा जिल्लामा सडक अवरुद्ध भएको छ। सोही राजमार्गको डडेल्धुराअन्तर्गत अर्नाखोलीमा ७ घण्टादेखि बन्द छ। मध्यपहाडीकै सिन्धुली कुडुलेमा साढे ९ घण्टादेखि बन्द छ।

सिन्धुलीकै सुमनाम बेसीमा १० घण्टादेखि सडक आवागमन बन्द भएको छ। कान्तिराजपथ शनिबारदेखि नै पूर्ण रुपमा बन्द छ। 

मुस्ताङको मार्फा खोलामा शनिबारबाटै सडक बन्द भएको छ। बाग्लुङको दब्ल्यांग भीरमा शुक्रबारबाट सडक रोकिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको काउटे मनेवा आइतबार बिहानैदेखि बन्द छ। म्यग्दीको सिरुबारीमा शुक्रबारबाट गाडी गुड्न पाएका छैनन्। 

स्याङ्जाको रातोडाँडा बिसौनामा बिहीबारबाट सडक रोकिएको अहिलेसम्म खुलाउन सकेको छैन। असार १८ गतेबाट रोकिएको लमजुङको निमाङमा पहिरो जाँदा सडक बन्द भएको छ। संखुवासभाको समाटार १७ दिनदेखि बाटो बन्द छ।

राप्ती राजमार्गको सल्यानमा आइतबार बिहानदेखि सडक बन्द भएको छ। भेडेटार रबि राँके सडकमा पनि शनिबारबाट गाडी गुड्न पाएका छैनन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!