काठमाडौँमा पहिरोमा रेष्टुरेण्टको भान्साघर पुरिँदा एक जनाको मृत्यु

Posted on: 06 Jul, 2024

असार २२, काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ ।  नागार्जुन-३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका-६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो । पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । 

काठमाडौँ महानगरपालिका-२९ घट्टेकुलोस्थित भित्री बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ ।  काठमाडौँको तारकेश्वर नगरपालिका-३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । 

उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका कोरिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ । हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित कोरिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!