आज नेपालमा वायु प्रदूषण यस वर्षकै उच्च, डढेलो नियन्त्रण नभए अझै बढ्ने

Posted on: 10 Apr, 2024

चैत २८, काठमाडौं | आज मुलुकको वायु प्रदूषण बढेर वर्षकै उच्च विन्दुमा पुगेको छ । देशका विभिन्न स्थानमा भइरहेको वन डढेलोका कारण वायु प्रदूषण उच्च विन्दुमा पुगेको हो ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) २ सय ६५ पुगेको छ । मङ्गलबार एक्यूआई २ सय पुगेको थियो ।


मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोसँगै वायु प्रदूषण अझै बढ्नसक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज  काठमाडौं विश्वको प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा सूचीकृत भएको छ । 

वातावरण विभागका उपमहानिर्देशक तारादत्त भट्टले बढ्दो डढेलोसँगै उपत्यकामा प्रदूषण पनि ह्वात्तै बढेको बताए । उनले डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको समन्वय जरुरी रहेको बताए । 

‘दिनानुदिन प्रदूषण बढिरहेको छ । एक्यूआई ३ सय पुगेपछि राज्यले आपतकालीन घोषणा गर्नुपर्ने हुन्छ,’ भट्टले भने । उनले वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण पनि बढ्दै जाने बताए ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!