'प्र्यांक कल' गरी श्रीमतीसँग दुई लाख माग, पछि श्रीमानको हत्या

Posted on: 03 Mar, 2024

फागुन २०, काठमाडौं | भक्तपुरमा ३३ वर्षीय गोपालप्रसाद ढकालको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलस्थित वडा कार्यालय नजिकै गोठमा ढकालको शव फागुन ११ गते फेला परेको थियो।

ढकालको हत्या आरोपमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ बस्ने २९ वर्षीय सन्तोष सुवाललाई पक्राउ गरेको हो। सुवाल काभ्रेको मण्डेउपुर नगरपालिका वडा नम्बर ६ बाट पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गरी सुवाललाई सार्वजनिक गरेको छ। प्रहरीका अनुसार मृतक ढकाल फागुन ९ गते घरबाट तेल किन्न निस्किएका थिए। तर उनी त्यसपछि कोठामा फर्किएनन्। 


ढकाल र सुवाल केही समयअघि मात्रै भट्टीमा भेटेका थिए। भट्टीमा रक्सी खानेक्रममा भेटेका उनीहरू फागुन ९ गते पनि भेटेको प्रहरीले जनाएको छ।

रक्सी खाएर उनीहरू दुबै जना सुवालको घरमा गएका थिए। त्यहाँ बसेर करिब पौने १२ बजेतिर सुवालले ढकालको फोनबाट उनकी श्रीमती रेनु ढकाललाई फोन गरेका थिए।

‘सँगै रक्सी खाएर उनीहरू सुवालको घरमा गएका रहेछन्। पौने १२ बजेतिर उनीहरूले प्र्यांक कल गरी श्रीमतीलाई अपहरणमा परेको भनेर दुई लाख रुपैयाँ माग गरेका रहेछन्,’ प्रहरी निरीक्षक निर्मल थापाले भने।

तर त्यसैबीच साढे १२ बजेतिर श्रीमतीमाथि दुर्व्यवहार गरेपछि सुवालले इट्टा प्रहार गरी ढकालको हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक थापाले बताए। हत्यापछि सुवालले ढकालको शव गोठमा राखेका थिए। त्यसपछि श्रीमतीसहित सुवाल काभ्रे गएका थिए।

आफ्ना श्रीमान हराएको र फोन आएको भन्दै रेनु प्रहरी वृत्त जगातीमा पुगेकी थिइन्। उक्त खबरपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो। जसक्रममा प्रहरीले शनिबार सुवाललाई पक्राउ गरेको हो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!