भाषण गरिरहेका नेताबारे देउवाले विश्वप्रकाशसँग सोधे- को मान्छे हुन् यिनी?

Posted on: 24 Sep, 2023

असोज ७, काठमाडौँ | नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा नियमित रुपमा सभापति शेरबहादुर देउवाले नेताहरूको पालो निर्धारण गर्छन्। बोल्ने नेताहरूले पाँच मिनेट समय पाउँछन्। सोही अनुसार आइतबारको बैठकमा उनले हरिशरण नेपालीलाई बोल्न पालो दिए।

नेपालीले पनि पाँच मिनेटसम्म बोले पनि आफ्नो सम्बोधन सकेनन्। उनी बोल्दै गर्दा देउवाले हस्तक्षेप गर्दै 'धन्यवाद है, सकियो त' भने। तर नेपाली बोलिरहे।

आफैंले केही बेरअघि नाम बोलाएर समय दिएको केन्द्रीय सदस्यको नाम देउवाले बिर्सिएछन् क्यारे। उनले महामन्त्री विश्वप्रकाश शर्मालाई बोलाएर सोधे, 'यिनको नाउँ? को मान्छे हुन् यिनी?' शर्माले वक्ताको नाम बताइदिए। फेरि देउवाले सोधे, 'कहाँका मान्छे हुन् यिनी?'

नेपाली बोलिरहेपछि देउवाले 'भयो भयो, तपाईंको (समय) सिद्धिसक्यो, माफ गर्नुस्' भने। त्यसले उनले मदनकृष्ण श्रेष्ठलाई समय दिए।

बैठक चलिरहँदा देउवाको अभिव्यक्तिले बेलाबेलामा हाँसो ल्याउने गरेको छ।

नेपालीले आफ्नो सम्बोधनमा उनले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीच समन्वय नभएको बताए। 'त्यस कारणले त्यहाँ धेरै ठूलो खाडल बन्दै गएको छ', उनले भने, 'समन्वय गरेर गए मात्रै पार्टी आफैं बन्छ। देश पनि समृद्धि बन्छ।'

चौधौं महाधिवेशनमा नेपाली देउवा समूहबाटै केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी दलित (खुला) समूहबाट निर्वाचित भएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!