दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्नेमा’, अर्को सुनुवाइ मंगलबार

Posted on: 30 Sep, 2024

असोज १४, काठमाडौँ । मेडिकल व्यवसायी तथा 'राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान'का संयोजक दुर्गा प्रसाईको बन्दी प्रत्यक्षीकरण मुद्दा सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुन नसक्ने घोषित भएको छ। यससँगै, मुद्दाको अर्को सुनुवाइ मङ्गलबारका लागि तोकिएको छ।


प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए। असोज ८ गते न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले रिटको प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीलाई कारण देखाउ आदेश जारी गरेको थियो।

दुर्गा प्रसाईलाई एक साताअघि प्रहरीले साइबर अपराधसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको थियो। प्रसाईंमाथि लागेको आरोपको अनुसन्धान जारी रहेपनि उनका समर्थकहरूले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरिरहेका छन्।

अब मङ्गलबारको सुनुवाइमा अदालतले यस मुद्दामा थप निर्णय लिने अपेक्षा गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!