प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

Posted on: 30 Sep, 2024

असोज १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदै छन् । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री आज दिउँसो ४ बजे स्वदेश आइपुग्ने कार्यक्रम छ ।

त्यसैको एक घण्टा पछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री ओलीले बाढी पहिरोको क्षतिका बारेमा मन्त्रीहरूसँग जानकारी लिनेछन् । 

प्रधानमन्त्री ओली राष्ट्रसङ्घको महासभामा भाग लिन असोज ४ गते अमेरिकाको न्यूयोर्क तर्फ प्रस्थान गरेका थिए ।

अमेरिकामा रहदा प्रधानमन्त्री ओलीले असोज १० मा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गरेका थिए ।  त्यस्तै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी भएका थिए ।

न्युयोर्कमा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफ, चिनियाँ विदेशमन्त्री वाङ यीलगायत विभिन्न देशका राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए । त्यस्तै प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालय र हार्वर्ड विश्वविद्यालयमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!