पुष्पलाललाई सांसदले पुष्पकमल भनेपछि...

Posted on: 22 Jul, 2024

साउन ७, काठमाडौँ । प्रतिनिधिसभाका सांसद किरणकुमार साहले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठलाई सम्झँदा पुष्पकमल दाहाल उच्चारण गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले आफ्नो उच्चारण सच्याउँदै पछि पुष्पलालप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

“नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पकमल दाहाल...पुष्पलालजीको ४६औँ स्मृति दिवसको अवसरमा उहाँप्रति श्रद्धासुमन व्यक्त गर्न चाहन्छु,” उनले भने ।

त्यसपछि उनले आफ्नो निर्वाचन क्षेत्र रौतहट–२ मा भएको घटनाबारे बोल्न थालेसँगै नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डले नियमापत्ति जनाए ।


“म नियमापत्ति गरिरहेको छु । उहाँले पुष्पकमल दाहाल भन्नुभयो । के भन्न खोज्नुभएको हो ? वास्तवमा एउटा माननीयले बोल्दा के बोलिरहेको छु भन्ने थाहा दिनुपर्छ भन्ने लाग्छ । म यो बारेमा नियमापत्ति गर्न चाहन्छु । रेकर्डबाट हटाउन...” उनले भने । उनले यति बोल्दा बोल्दै माइक काटियो ।

पाण्डेको आपत्तिपछि सभामुख देवराज घिमिरेले त्यसबारे प्रस्ट पार्न साहलाई निर्देशन दिए । “वक्ता माननीयज्यू, तपाईंले बोलेको पुष्पकमल दाहालमाथि आपत्ति आयो, तुरुन्त प्रस्ट गर्नुस् अनि आफ्नो कुरा राख्नुस्,” सभामुख घिमिरेले भने । 

त्यसपछि नेकपा (एमाले)का सांसद साहले बोल्दा उच्चारण गलत भएको भन्दै माफी मागे । “सम्माननीय महोदय, मैले पुष्पलाल भनेको पुष्पकमल भन्न आएकाले क्षमा माग्न चाहन्छु,” उनले भने ।

त्यसपछि सभामुखले उनलाई थप धारणा राख्न समय दिए । संसद्को कारबाही नियमित रूपमा अघि बढाइयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!