रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर

Posted on: 08 Jul, 2024

असार २४, काठमाडौँ । रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छोडेका छन् । 

उनले आजबाट विधिवत रूपमा क्वाटर छाडेको जानकारी दिएका हुन् । 

उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए ।  “आजबाट विधिवत् रुपमा मैले क्वाटर छाडेँ । शुक्रबारबाट मन्त्रालय गएको छैन । गाडी र सुरक्षा संयन्त्र पनि मन्त्रालयको काम परेमात्र प्रयोग गर्छु,” उनले भने । 


मन्त्रालय नजाँदा कसरी काम भइरहेको छ भन्ने प्रश्नमा उनले संयन्त्रले काम गरिरहेको जानकारी दिए ।  “सरकार अल्मतमा छ । दीर्घकालीन असर गर्ने निर्णय गर्न पाइँदैन । दिनहुँ काम कर्मचारी संयन्त्रबाट हुन्छ,” उनले थपे, “अनिवार्य पर्‍योभने जान्छु । नभए संयन्त्रबाट काम हुन्छ ।” 

रास्वपाका सबै मन्त्रीले छाडेको हो भन्ने प्रश्नमा उनले आफ्नो जानकारीमा सबैले क्वाटर छाडेको जानकारी आएको बताए ।  “विधिवत् छाड्नुभयो कि भएन मलाई थाहा भएन । तर, सबैले छाडेको भन्ने सुनेको छु । तर, मैले चाहिँ विधिवत रूपमा प्रकृया पुरा गरेर छाडेँ,” उनले भने । 

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि राजनीतिक तरलता सिर्जना भएको छ ।  एमालेले सरकार छाडेर समर्थन फिर्ता गरेपछि सरकार स्पष्ट अल्पमतमा छ ।  जसपाले पनि सरकरलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

यस्तो अवस्थामा रास्वपा मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएको छ ।  अल्पमतमा रहेका प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् । यता, एमाले चाहिँ प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!