मसहित २२ जना भएर भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : मिलन लिम्बू

Posted on: 09 Apr, 2024

चैत २७, काठमाडौँ । आसन्न उपनिर्वाचनमा इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका छन् ।

चुनावी कार्यक्रम लिएर मङ्गलबार फाकफोकथुम गाउँपालिका आएका उनले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका हुन् ।  “भ्रष्टाचारीहरूलाई ठेगान लगाउने जिम्मा हामी लिन्छौँ,” उनले भने ।


अगाडि उनले भने, “अहिले हाम्रा २१ जना सांसद छन् । २१ जना हुँदा त भ्रष्टाचारीहरूको सातो गएको छ । म पनि संसद् भवन छिरेँ भने २२ जना हुन्छौँ र यो देशका भ्रष्टाचारीहरूलाई ठेगान लगाउने जिम्मा हामी लिन्छौँ ।”

उनले रास्वपा सरकारमा जानेबित्तिकै भ्रष्टाचारीहरू थररर कामेको बताए । “सुन खाएर पचाउन नसकेका तस्करहरू खोरमा पुगेका छन् । यहाँ बत्ती बाल्दा भ्रष्टाचार भएको छ, अस्पताल बनाइँदा भ्रष्टाचार भएको छ, बाटो बनाइँदा भ्रष्टाचार भएको छ । यसको रखबारी हामी गर्छौँ,” उनले भने ।

उनले आफू संसद् भवन छिरे फाकफोकथुमका समस्याहरू समाधानतर्फ गम्भीररूपमा सोच्ने बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!