गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिदै

Posted on: 03 Apr, 2024

चैत २१, पोखरा | गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने भएका छन् ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उनले सो समयसम्म प्रदेश सभा सचिवालयलाई सूचना दिएका छैनन् ।

मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाएका छन् ।  विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहेका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने भएका हुन् । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहेका छन् । 

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् । गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी भएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!