बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

Posted on: 16 Aug, 2023

साउन ३१, धनुषा । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् ।

मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

प्रहरी जवान चौधरीलाई मंगलबार राति नै प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्काले आरोपित प्रहरी जवानलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी दिए ।


आरोपी जवानलाई संरक्षण नगर्न खबरदारी गर्दै स्थानीय वासिन्दाले मिथिला नगरपालिका-९ ललागढस्थित प्रहरीचौकी घेराउ र पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । पौने १२ बजेदेखि स्थानीयले राजमार्ग अवरुद्ध गरेको वडा नं. ९ का वडाध्यक्ष सविनविक्रम थापाले बताए ।

थापाका अनुसार प्रहरीको ड्रग शाखामा कार्यरत रुपेश चौधरीसहित दुई जना प्रहरी कर्मचारी गाउँ आएका थिए । त्यतिबेला बालिकालाई बोलाएर यौन दुर्व्यवहार गरेको उनको भनाइ छ ।

राति नै ती प्रहरी जवानलाई प्रहरी अधिकृतको उपस्थितिमा सार्वजनिक माफी माग्नुपर्ने र कानुनी कारबाही गर्नुपर्ने भन्दै स्थानीयले माग राखेका थिए । तर मादक पदार्थ सेवन गरेको वा नगरेको स्वास्थ्य जाँच गराएर ल्याउने भनेपनि हालसम्म चौकीमा नल्याएको भन्दै राजमार्ग अवरुद्ध गरेको वडाध्यक्ष थापाको भनाइ छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!