तातोपानी नाका दुई महिनाभित्र मान्छेका लागि पनि खुला गरिने

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौँ | नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो ।

नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । तिब्बतमा हालै सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताए । 

‘बैठक फलदायी भयो, थुप्रै विषयमा छलफल र सहमति भए,’ तिवारीले भने, ‘सेम्टेम्बर महिनाभित्र तातोपानी नाका मानवका लागि समेत खोल्न उहाँ (चिनियाँ)हरू सहमत हुनुभयो, निर्णय भएर माइन्युट नै भएको छ, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो ।’ तिवारीले नेतृत्व गरेको नेपालको सात सदस्यीय वार्ताटोली शनिबार मात्रै काठमाडौं आइपुगेको छ । 

०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ ०७६ मा नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोलेको थिएन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो । गत १८ वैशाख ०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आयो । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो । 

नाकामा पूर्वाधार निर्माण र व्यापार सहजीकरणमा समझदारी

द्विपक्षीय बैठकमा नाकामा पूर्वाधार निर्माण एवम् व्यापार सहजीकरणका लागि समेत समझदारी भएको छ । नाकामा अन्तरदेशीय विशेष आर्थिक क्षेत्र (सेज) र सुक्खा बन्दरगाह निर्माण गर्न चीनले सहयोग गर्ने, नेपालको निर्यातलाई सहजीकरण गर्ने, व्यापार तथा पारवहनसम्बन्धी सम्झौतालाई समयानुकूल बनाउने गरी पुनरावलोकन गर्ने, थप नाका सञ्चालन गर्नेलगायत समझदारीसमेत भएको उनले जानकारी दिए । समितिको १२औँ बैठक एक वर्षपछि काठमाडौंमा आयोजना हुनेछ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!