नेपाल २०२६ पछि विकासशील राष्ट्र बन्दै, विकासशील राष्ट्र बनेपछि के हुन्छ ?

Posted on: 30 Jul, 2023

साउन १४, काठमाडौं । तीन वर्षपछि अति कम विकसित मुलुकबाट नेपाल ‘विकासशील’ मा फड्को मार्दै छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०२६ बाट नेपाल स्तरोन्नति हुने निर्णय गरिसकेको छ। विकासशीलमा फड्को मारेपछि नेपालले अति कम विकसित मुलुकका नाममा पाउँदै आएका सुविधा गुमाउनेछ। यसको प्रत्यक्ष असर निर्यातमा पर्ने सरोकारवालाहरू बताउँछन् । 

अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि नेपालको निर्यात ४ प्रतिशतसम्मले घट्ने देखिएको छ । अन्तर्राष्ट्रिय व्यापारबारे चासो राख्ने संस्थाको अनुमानअनुसार सन् २०२६ को प्रक्ष्येपित १ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको निर्यातमा ४ प्रतिशत अर्थात् ८ अर्बसम्मको गिरावट आउनेछ ।

त्रिविवि अर्थशास्त्र विभागका प्रमुख डा. शिव अधिकारीले भने विकासशील राष्ट्रमा स्तरोन्नति भएपछि ‘देशको कमजोर मानसिकता’ हट्ने बताउँछन्। ‘घाटाको हिसाब होइन, नाफाको हिसाब गर्नुपर्छ,’ अधिकारी भन्छन्, ‘नीति नियम पनि फरक ढंगले बनाउनुपर्छ। कति कमजोर भएर बस्ने ? कति माग्ने मात्रै ?’ 

अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन आवश्यक ३ मध्ये २ मापदण्ड पूरा गरेपछि नेपाल विकासशील मुलुक हुन योग्य भएको थियो । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले स्तरोन्नति हुन सिफारिस गरेअनुसार राष्ट्रसंघको महासभाले नेपाल सन् २०२६ मा ‘ग्र्याजुयट’ हुने निर्णय गरेको थियो । सो वर्ष नेपालसँगै बंगलादेश र लाओस पनि विकासशील राष्ट्र बन्दै छन् । 

- यो समाचार अन्नपूर्ण पोस्टमा छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!