अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित

Posted on: 23 Jun, 2024

असार ९, काठमाडौँ । अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ ।

जारी टी- २० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ । यो टी- २० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलो पटक हो ।

अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्बाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए । त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए । अफगानिस्तानका लागि गुलबदीन नैबले सर्बाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए । त्यस्तै मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउदै १४८ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्बाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।

त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए ।

यो जितपछि अफगानिस्तानले सुपर आठको समुह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ । त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ । अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।

      

यस बिषयमा तपाइको प्रतिक्रिया...!